काठमाडौं । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुनर्मतदान हुँदै छ । बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले ‘बताएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार १० वटै केन्द्रमा मतदानका सबै तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ । ‘१० वटै मतदान केन्द्रमा पुनर्मतदान तयारी पूरा भएको छ, सुरक्षाको कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देश गरिसकेको छ,’ आयोग प्रमुख आयुक्त थपलियाले भने ।
आयोगले निर्वाचन सम्पन्न भएको ८ दिनपछि गत ११ मंसिरमा दोलखामा ‘बुथ कब्जा’ भएको निष्कर्षसहित विवादित मतदान केन्द्रमा पुनर्मतदान गर्ने निर्णय गरेको हो । ‘स्थलगत छानबिन गर्न’ भन्दै दोलखामा सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली पठाएको थियो । टोलीको प्रतिवेदनका आधारमा आयुक्त रामप्रसाद भण्डारीले पुनर्मतदान सिफारिस गरेका थिए ।
आयोगले दोलखाका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १ को वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ केन्द्रको निर्वाचन रद्द गर्दै पुनर्मतदान निर्णय गरेको थियो ।
यसैगरी, वैत्यश्वर वडा ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग को मतदान रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । आयोगले ती सबै स्थानमा १५ मंसिरभित्र पुनर्मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS