काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।
आयोगका अनुसार झण्डा वा चुनाव चिह्न बोकाउने, र्याली, सांस्कृतिक कार्यक्रम तथा दल(विशेषको समर्थन वा विरोधमा बालबालिकालाई सहभागी गराउने, विद्यालय समयमा विद्यालय नजिक चुनावी कार्यक्रम आयोजना गरी अध्ययनमा अवरोध पुर्याउने विषयमा उजुरी प्राप्त भएका छन् ।
नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आयोगले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग कानुनविपरीत हुने जनाएको छ । साथै निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिका प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ ।
आचारसंहिता उल्लङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले चेतावनी दिएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बालबालिकाको अध्ययन(अध्यापनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न तथा बालअधिकारको संरक्षण गर्न सबै दल, उम्मेदवार र मतदातालाई आग्रह गरेका छन्।

FACEBOOK COMMENTS