काठमाडौँ । निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा लागू गराउन र उल्लङ्घनका घटनालाई घटाउन निर्वाचन आयोगले आवश्यक जाँचबुझ र कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
आयोगले आचारसंहिता कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला स्तरका अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत, सुरक्षा निकाय र सम्बन्धित निर्वाचन कार्यालयलाई सक्रिय राखेको जनाएको छ ।
हालसम्म आयोगमा इमेल, व्यक्तिगत दर्ता र सञ्चार माध्यममार्फत २५४ उजुरी प्राप्त भएका छन् । तीमध्ये ८८ उजुरीमा स्पष्टीकरण सोधिएको छ भने सोधिएको जवाफमध्ये ५७ वटा प्राप्त भएका छन् । आयोगका अनुसार राजनीतिक दललाई ४ र उम्मेदवारलाई ३३ वटा स्पष्टीकरण सोधिएको छ भने सरकारी, शैक्षिक संस्था तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण मागिएको थियो । त्यस्तै प्रदेशगत रूपमा कोशी प्रदेशमा ८, मधेशमा १३, बागमतीमा ४०, गण्डकीमा ६, लुम्बिनीमा ७, कर्णालीमा ४ र सुदूरपश्चिममा ४ उजुरीमा स्पष्टीकरण सोधिएको छ ।
उल्लङ्घनका घटनामा आयोगले आवश्यक कारबाही पनि अघि बढाएको जानकारी दिएको । जसअनुसार नेपाली कम्युनिस्ट पार्टीका जाजरकोट-१ का उम्मेदवार शक्ति बहादुर बस्नेतलाई आचारसंहिताको दफा १३ को उल्लङ्घन गरेको भन्दै २५ हजार जरिवाना गरिएको छ भने रुपन्देही-२ का नेपाल जनसेवा पार्टीका उम्मेदवार डा. कमल भुसाल (नोकोलस) लाई दफा ४ को उल्लङ्घनमा २५ हजार जरिवाना गरिएको छ । त्यस्तै श्रम संस्कृति पार्टीलाई दफा ४ र १३ को उल्लङ्घनमा २५ हजार जरिवाना गरिएको आयोगले जनाएको छ ।
साथै आयोगले उम्मेदवारहरूलाई सचेत पनि गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बाँके-३ का उम्मेदवार खगेन्द्र सुनारलाई आचारसंहिता प्रतिकूल अभिव्यक्ति नदिन सचेत गराइएको छ । भक्तपुर-२ की जानुका पाठकलाई जेनजी आन्दोलनमा रगतले लतपतिएको आइकोनिक जुत्ता दुरुपयोग नगर्न चेतावनी दिइएको छ ।

निर्वाचन आयोगले उल्लङ्घन घटाउने र आचारसंहिता पालनालाई प्रभावकारी बनाउन निरन्तर निगरानी र कारबाहीको प्रक्रिया जारी राख्ने जनाएको छ । आयोगले आवश्यक परे थप अनुसन्धान र कारबाही गर्ने तयारीमा रहेको पनि बताएको छ ।

FACEBOOK COMMENTS