काठमाडौं । निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थिए । अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेको उनले बताए । उनका अनुसार यस अवधिमा सात वटा दल खारेज भएका छन् भने सात वटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।
खारेज भएकाहरुमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिए अनुसार र बाँकी ६ दलहरु नेतृत्वको आग्रहमा खारेज गरेको उनको भनाइ छ ।
हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताए । भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए ।
आयोगले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेकोसमेत जनाएको छ । मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ६ मंसिरसम्म जारी रहने छ ।

FACEBOOK COMMENTS