काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको जानकारी दिए ।
मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा जारी छ । स्वयम्सेवक परिचालन गरी फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म जारी रहनेछ । मतदान केन्द्रका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् ।
मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उनले बताए ।
निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ ।

FACEBOOK COMMENTS