काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनले नेपाली राजनीतिमा नयाँ संकेत दिएको बताएका छन्।
यस निर्वाचनमा बालेन नेतृत्वसँग जोडिएको राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिँदा लामो समयदेखि सत्ता र दलीय स्वार्थमा लिप्त, भ्रष्टाचारको आरोप खेपिरहेका र अहंकारले भरिएका पुराना राजनीतिक अनुहारहरू संकटमा परेको उनको भनाई छ ।
यो परिणामले नेपाली जनताले परिवर्तन चाहेको स्पष्ट सन्देश संकेत पनि दिएको उनले बताए । अब उदाउँदै गरेको नयाँ शक्तिले पनि केवल नारामा होइन, राष्ट्रहितको स्पष्ट अडानमा उभिनु आवश्यक छ।
असंलग्न परराष्ट्र नीति, सुशासन, कानुनी समानता र भ्रष्टाचारबाट आर्जित अकुत सम्पत्तिको राष्ट्रियकरण जस्ता विषयमा दृढ र संवेदनशील भएर सरकार निर्माण गर्नुपर्ने जनअपेक्षा छ। बालेन नेतृत्वमा बन्ने सम्भावित सरकारले पक्षपातरहित सामाजिक न्याय सुनिश्चित गर्दै विगतका दलीय सङ्कीर्णता र पृष्ठपोषक राजनीतिक संस्कृतिबाट आफूलाई अलग राख्न सक्नुपर्छ।
आज नेपालको अर्थतन्त्र खस्किएको अवस्थामा छ। विश्व परिवेशमा देखिएको अस्थिरता र संकटबाट नेपाल पूर्ण रूपमा अलग रहन सक्दैन। विशेष गरी मध्यपूर्वमा भइरहेको मानवता विरोधी युद्ध र साना राष्ट्रहरूमाथि शक्तिशाली मुलुकहरूले प्राकृतिक स्रोत–साधनमा कब्जा जमाउने रणनीतिबाट नेपाल समयमै सचेत हुन आवश्यक छ। अन्यथा, भूराजनीतिक जटिलताले नेपालको सार्वभौम सत्तामाथि नै कालो बादल मडारिन सक्छ।

नेपाललाई अब प्रतिशोध र घृणाको राजनीतिभन्दा माथि उठेको सरकार चाहिएको छ-जहाँ हरेक नेपालीले “यो मेरो सरकार हो” भन्ने गौरव गर्न सकोस्। विगतका ती अत्यासलाग्दा राजनीतिक घटनाक्रमले नेपालीहरू फेरि पीडित नबनून् भन्ने जनताको चाहना छ।

आज लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। आउने सरकारले देशमै रोजगारी र अवसर सिर्जना गरेर युवालाई आफ्नै मातृभूमिमा भविष्य देख्ने वातावरण बनाउनुपर्छ। साथै, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र सांस्कृतिक वैभवले नेपाली समाजमा गहिरो प्रेम, एकता र सद्भाव सधैं कायम राख्ने आधार बन्नुपर्छ। अन्तत:, देशभक्त र राष्ट्रवादी शक्तिहरूबीच समन्वय र सहकार्य गर्दै राष्ट्रियता सुदृढ गर्ने सरकार बन्न सकोस्य-ही आम नेपालीको शुभेच्छा हो।

FACEBOOK COMMENTS