काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् ।
‘हामी चुनाव गराउनै लागिरहेका छौं । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौं । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अबको हाम्रो लक्ष्य चुनाव गराउने हो । चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।’ नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिए । ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने, ‘चुनाव गराउन सफल हुनुहोस् ।’
प्रधानमन्त्री कार्कीले नेम्वाङसँग चुनावमा उठ्ने तयारी के छ ? भनेर पनि जिज्ञासा राखेकी थिइन् । प्रतिक्रियामा नेम्वाङले चुनावको तयारी गरिरहेको बताएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले नेम्वाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखिन् । नेम्वाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुन:निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिइन् ।
FACEBOOK COMMENTS