पछिल्लो समय नेपालमा इलेक्ट्रिक भेहिकलहरूको बजार तीव्र गतिमा बढिरहेको छ । विभिन्न कम्पनीका दर्जनौँ मोडलहरू नेपाल भित्रिएका छन् । अब साँच्चै नेपालको अटो क्षेत्र आईसीईबाट ईभीमा सिफ्ट भएको हो ?
नेपालमा इलेक्ट्रिक भेहिकलहरूको आयात र बिक्री जुन अनुपातमा भइरहेको छ, त्यसलाई सतही रूपमा हेर्दा त्यस्तो (ईभीमा सिफ्ट) भएको देखिन्छ । तर, हामीले दुई वर्षयताको वास्तविकता र तथ्यलाई हेर्ने हो भने तपाइँले भन्नुभएजस्तो नेपाली अटोबजार ईभीमा सिफ्ट हुन अझै समय लाग्छ । ईभीको आयात र खरिदकर्ताबीच को-रिलेशन हुनुपर्दछ । अहिले सरकारले ईभीमा दिएको छुट र पेट्रोलको खर्च बचाउने ग्राहकको मनोविज्ञानका कारण तुलनात्मक रूपमा ईभीको आयात र बिक्री बढेको हो । यसले आयात र बिक्री बढ्नु स्वाभाविक हो । अहिले नेपालीले ईभीप्रति आकर्षण देखाएको भन्दा पनि सस्तोमा पाइने भएकाले ईभी किन्ने राइट टाइम (उपयुक्त समय) हो भनेर किनिरहेको मेरो बुझाइ छ । त्यसकारण ईभी नै हाम्रो भविष्य हो भन्ने चाहिँ मलाई अझै पनि लागिरहेको छैन । ईभीको पूर्ण रूपमा ‘एडप्टेशन’का लागि हामीकहाँ भौतिक तथा प्राविधिक पूर्वाधारहरूको कमी छ । सरकारले दिएको सहुलियत सधैँ कायम नरहने भएकाले पछि गएर चुनौतीहरू पनि सृजना हुने खतरा मैले देखेको छु ।
विक्रेताको कोणबाट हेर्दा मानिसहरू पेट्रोल गाडी छोडेर के कारणले ईभीतर्फ गइरहेका छन् ? आधारहरू के-के होलान् ?
यसमा हाम्रो संवेदनशीलता र भावनात्मकताले काम गरेको देखिन्छ । यसअघि भारतले लगाएको नाकाबन्दीका समयमा इन्धन नभएर छटपटिएको परिस्थितिको विकल्पका रूपमा ईभी आयो भन्ने अनुभूति नेपालीलाई भएको छ । ३०० अर्ब रूपैयाँ बराबरको फ्युल आयात भइरहेकामा त्यसलाई केही घटाउन सकियो भने सहज हुन्छ कि भन्ने सरकारको आश, घरमै चार्ज हुने र खर्च कम हुने उपभोक्ताको बुझाइ, सरकारले दिएको छुटका आधारमा एक करोड रूपैयाँ पर्ने कार ४५-५० लाखमै किन्न पाइनुलगायत आकर्षणले गर्दा नेपाली उपभोक्ताको रोजाइमा ईभी परेको हो । तर, पछि हुने फाइदा-बेफाइदा, चुनौती र सहज-असहज परिस्थितिबारे अहिलेसम्म सरकार र उपभोक्ता दुवै अलमलमा छन् । वैकल्पिक इनर्जीका रूपमा ईभी अपनाउनुपर्छ, एउटै विकल्पमा मात्रै रहन हुँदैन भन्ने कुरा राम्रो हो, तर यसको विकास, वृद्धि र उपभोग क्रमिक रूपमा हुनुपर्दछ । त्यसकारण ईभी वैकल्पिक इनर्जी हो, संसारै यही होइन ।
त्यसो हो भने नेपालमा ईभीलाई प्रमुख र आईसीईलाई वैकल्पिक इनर्जीका रूपमा विकास गर्न सकिने अवस्था छँदै छैन त ?
नेपालमा ईभीलाई प्रमुख र आईसीईलाई वैकल्पिक इनर्जीका रूपमा विकास गर्न नसकिने भन्ने छैन । तर, सरकार र उपभोक्ता दुवैसँग यसबारे पूर्वतयारी राम्रो हुनुपर्दछ । हामीले आजको अवस्था मात्रै भन्दा पनि १०-२० वर्षपछिको परिस्थितिलाई पनि आकलन गर्नुपर्दछ । हाम्रो देशको भौगोलिक संरचना, बाटोघाटो, मौसमी अवस्था, अल्टिच्युटको स्थितिलगायतलाई हेरेर यी अवस्थासँग सुहाउँदो ईभी मात्रै नेपालमा भित्र्याउन पाइयो भने केही हदसम्म हाम्रो इच्छा पूरा होला । अर्को कुरा, ईभी भनेको ५०% ब्याट्री र ५०% अरू कम्पोनेन्ट हो । यसको ब्याट्री आफैँमा महँगो वस्तु हो भने अरू कम्पोनेन्टहरू इलेक्ट्रोनिक्स सेन्सरमा आधारित छ । यस्ता महँगा वस्तुको रि-पेयर वा एक्सचेञ्ज कत्तिको महँगो पर्ने हो ती कुरामा पनि हामीले राम्रो अध्ययन गर्न जरूरी छ ।
भौतिक तथा प्राविधिक संरचनाहरूको पर्याप्त विकासविनै ईभीमा आकर्षित हुनुभएका नेपाली उपभोक्ताहरूको वर्तमान समस्या र चुनौतीहरू के-के देख्नुहुन्छ ?
अहिले धेरैले ठाउँ-ठाउँमा चार्जिङ स्टेशन निर्माण भयो भने त्यसैलाई ईभीको पूर्वाधार मानिरहनुभएको छ । मेरो विचारमा चार्जिङ स्टेशन एउटा सामान्य पाटो हो, जुन गाडीको आयात र बिक्रीसँगै आवश्यकताअनुसार विकास हुँदै जाने कुरा हो । तर, चार्जिङ स्टेशन कस्तो र कति क्षमताको हुने हो, त्यो क्षेत्रमा विद्युत् सप्लाईको अवस्था कस्तो छ, घरमै गर्नुहुन्छ भने तपाइँको घरको विद्युत् वायरिङ कस्तो छ भन्ने पक्षहरूले पनि अर्थ राख्दछ । विश्व परिवेशलाई हेर्ने हो भने १०ः१ को रेसियोमा चार्जिङ स्टेशन हुनुपर्दछ । त्यस आधारमा हालसम्म नेपालमा दुई हजार ५०० भन्दा बढी चार्जिङ स्टेशनहरू हुनुपर्ने हो । तर, हामीसँग त २०० पनि छैन । अर्को कुरा, बाटोघाटो, ब्याट्रीको सुरक्षा तथा गाडीको रिसेल भ्यालूलगायत विषय अहिले हाम्रा उपभोक्ताका समस्या र चुनौती हुन् ।
तपाइँले औँल्याउनुभएका विषयवस्तुहरू एउटा पाटो हो, अर्कोतिर तपाइँले अहिले प्रतिनिधित्व गरिरहनुभएको संस्था लक्ष्मी ग्रुपअन्तर्गतको ‘लक्ष्मी हुन्डाइ’ले चाँडै नै ‘क्रेटा ईभी’ नेपालमा लञ्च गर्ने तयारी गरिरहेको छ । तपाइँहरूले चाहिँ हुन्डाइ ब्राण्डको कस्तो ईभी नेपाल ल्याउँदै हुनुहुन्छ ?
हुन्डाइ भन्नेबित्तिकै विश्वस्तरीय चर्चित ब्राण्ड हो । हालसम्म गरेका काम र उत्पादित प्रडक्टहरूका आधारमा यसले आम उपभोक्ताको मन जित्दै आफ्नो विश्वसनीयता कायम गर्न सफल रहँदै आएको ब्राण्ड हो, हुन्डाइ । हुन्डाइले ईभी ल्याउन लागेको यो पहिलो होइन । यसअघि सन् २०१८ मा कोना र सन् २०१९ मा आयोनिक ईभी कार ल्याएर नेपालमा बिक्रीवितरण गरिरहेको स्थिति हो । अहिले पनि प्रिमियम सेगमेन्टमा आयोनिक-५ को बिक्रीवितरण हुन्डाइको लक्ष्मी ग्रुपले गरिरहेको छ । त्यसकारण नेपालमा चलाउने ईभीमा के-के चाहिन्छ भन्ने कुरामा हामीले सन् २०१८ बाटै तयारी गरिरहेका थियौँ । त्यस्तै, ब्याट्रीको रिप्लेसमेन्ट र त्यसको व्यवस्थापनदेखि पार्टपुर्जा र सफ्टवेयरका विषयमा समेत हामीले धेरै गृहकार्य गरिसकेका छौँ । त्यसबाट हामी एउटा राम्रो निष्कर्षमा पुगेर अहिले ‘क्रेटा ईभी’ नेपालमा लञ्च गर्ने तयारीसम्म आइपुगेका हौँ ।
‘क्रेटा ईभी’ नेपालको भौगोलिक संरचना, वर्तमान प्राविधिक पूर्वाधार, सडक पूर्वाधार, रिजनेवल मूल्य र मौसम अनुकुलित छ । किनभने ‘क्रेटा ईभी’ डेभलप भएको छिमेकी राष्ट्र भारत र नेपालको धेरै कुरा समान छन् । उनीहरू र हाम्रोमा हुने ड्राइभिङ कन्डिसन मिल्छ । त्यसकारण सबै गुणले भरिपूर्ण ईभी कारका रूपमा ‘क्रेटा ईभी’ नेपाल आउँदै छ । क्रेटा आफैँमा एउटा ब्राण्ड हो, त्यो नै ईभी भर्जनमा आइसकेपछि नेपाली उपभोक्ताहरूमा ढुक्कको अवस्था बन्छ भन्ने विश्वास हामीले गरेका छौँ । हाम्रा उपभोक्ताले ईभीको ‘बेसिक अब्जेक्टिभ’ सबै यसमा पाउनुहुनेछ । साथै, यसका स्पेयर पार्टसहरू पनि हुन्डाइकै मिल्ने भएकाले उपभोक्तालाई थप सजिलो हुने छ ।
हुन्डाइका बहुप्रतीक्षित ईभी मोडलहरू कहिलेदेखि नेपाली उपभोक्ताले उपभोग गर्न पाउँछन् ?
‘क्रेटा ईभी’ आगामी मार्चको दोस्रो हप्तासम्ममा नेपाल आइसक्ने छ । तत्कालका लागि हामीले लाइनअपमा चारवटा भेरियन्ट नेपाल ल्याउँदै छौँ । सुरूमा दुईवटा र केही महिनामा हुन्डाइका चारवटै भेरियन्ट नेपाल ल्याएर बिक्री गर्ने हाम्रो योजना छ ।
मूल्य रेञ्ज कस्तो रहने छ ?
हामीले ल्याउने एसयूभी ईभी हो । यसको अहिले नै नेपाली मूल्य निर्धारण भइसकेको अवस्था छैन । यद्यपि, अहिले नेपालमा चलिरहेको उस्तै सेगमेन्टहरूको भन्दा सस्तो मूल्यमा ‘क्रेटा ईभी’ नेपाल आइपुग्ने विश्वास हामीलाई छ । गाडीको विशेषतालाई त्यसको मूल्यले निर्धारण गर्न सक्दैन । हामीले मूल्यभन्दा पनि खरिद-बिक्रीपछिको सेवालाई प्राथमिकता दिनेछौँ । जे होस् ‘क्रेटा ईभी’को मूल्य उच्च हुँदैन ।
नेपालमा पर्याप्त पूर्वाधार नभएको चर्चा हामीले अगाडि गरिसक्यौँ । नयाँ ईभी ल्याउने अन्तिम तयारी गरिरहेको लक्ष्मी हुन्डाइले पूर्वाधार निर्माणको तयारी चाहिँ कस्तो गरिरहेको छ ?
पूर्वाधार अत्यन्तै महत्त्वपूर्ण विषय हो । हामी सर्पोट सिस्टमबाहेकका सबै सेवा ग्राहकलाई दिनेगरी तयारी गरिरहेका छौँ । चार्जिङ स्टेशन पहिलो शर्त हो, त्यसको विकास र वृद्धि दीर्घकालीन हुनुपर्छ भन्ने मान्यताबाट हामी अघि बढेका छौँ । त्यसका निम्ति हामी काम गरिरहेका छौँ । हामीले ‘चार्ज शप’को अवधारणाअनुसार हरेक डीसी चार्जर रहेको ठाउँमा वर्कशप पनि राख्ने तयारी गरेका छौँ । यो तयारी तत्कालका लागि हाइवेमा केन्द्रित हुनेछ । केही ठाउँमा यससम्बन्धी काम सम्पन्न भएर अपरेशनमा आउने स्थिति बनिसकेको छ भने अन्य ठाउँहरूमा पनि निर्माणको तयारी गरिरहेका छौँ ।
इलेक्ट्रिक भेहिकलको प्रवर्द्धनका निम्ति सरकारबाट हुनसक्ने र हुनुपर्ने कामहरू के-के हुन्, जहाँ तपाइँहरूको पनि अपेक्षा जोडिएको छ ?
अवश्य पनि सरकारका केही दायित्वहरू छन् । ईभीका लागि आधारभूत पूर्वाधार निर्माण सरकारको दायित्वभित्र पर्दछन् । उपयुक्त सडक निर्माण, पर्याप्त विद्युत् उत्पादन, ठाउँ-ठाउँमा ट्रान्सफर्मरको व्यवस्था र केही चार्जिङ स्टेशनहरूको निर्माण सरकारको दायित्वभित्र पर्दछन् । बाँकी कामहरू व्यवसायीहरूले पनि गरिरहेका छन्, जसले सरकारलाई नै पनि सहयोग पुगिरहेको छ भन्ने हाम्रो बुझाइ छ । एउटा ठूलो अपार्टमेन्टका हरेक फ्लाइट बस्नेहरूले ईभी एडप्ट गरिदिनुभयो भने त्यहाँ विद्युत् पुग्छ कि पुग्दैन, टोलमा पनि हरेक घरले ईभी किन्यो भने के गर्ने, त्यसबारे सरकारले सोच्नुपर्छ, व्यवसायीले सोचेर हुँदैन ।
नेपालमा ईभीका फाइदा र चुनौतीका पक्षहरू के-के हुन् ?
मेरो विचारमा ईभी र आईसीईको यात्रा समानान्तर रूपमा अघि बढ्नुपर्छ । किन्नुअघिको आकर्षण आईसीई इन्जिनयुक्त गाडीभन्दा ईभीमा छँदै छ । किनभने यो मूल्यका हिसाबले निकै सस्तोमा पाइन्छ । किनिसकेपछि भने आईसीई र ईभीको जर्नीमा आकाश-जमिनको फरक छ । ईभीको जर्नीका लागि प्लान गर्नुपर्छ भने समय पनि बढी छुट्याउनुपर्छ । तर, आईसीई गाडीका लागि प्लान नगरी हिँडे पनि धेरै काम गर्न सकिन्छ । यद्यपि, समय र फ्लेक्जिबिटीका कोणबाट भने फरक-फरक व्यक्तिको आ-आफ्नै छनोट हुनु स्वाभाविक हो ।
यी सबै कुराहरू गरिरहँदा विद्युतीय गाडीका उपभोक्ताहरू खासगरी दुईवटा चिन्ताबाट गुज्रिरहेका छन् । एउटा, ब्याट्रीको लाइफसाइकल कति हुने र ब्याट्री परिवर्तन गर्दा खर्च कति लाग्ने । र अर्को, नेपाल भित्रिएका ब्राण्डहरूको स्थायित्व के हुने हो भनेर । यी दुईवटा कुराहरूमा कसरी आश्वस्त तुल्याउनुहुन्छ ?
यो निकै सिरियस चिन्ता हो, त्यसैले मैले भन्दै आएको छु- गाडी रोज्नुअघि नै हामीले सबै पक्षबारे विचार गर्नुपर्छ । अहिले उपभोक्ताहरू यी विषयबारे जानकार हुँदाहुँदै पनि आकर्षणको लोभमा पर्नुभएको छ । त्यसमा पनि व्यक्ति स्वयं सन्तुष्ट हुनुहुन्छ भने समस्याको विषय भएन । जहाँसम्म ब्याट्रीको लाफसाइकल र खर्चको विषय छ, त्यसबारे कुरा गर्दा आईसीई गाडी खरिद गरेपछि तपाइँले चढुञ्जेल राम्रो चलाउँछु, समयमा सर्भिसिङ गराउँछु र इन्जिन मर्मत गर्दिनँ वा फेर्दिनँ भन्न पनि पाउनुभयो । त्यति गर्दा पनि तपाइँले रिसेल भ्यालू राम्रैमा गाडी अर्को पक्षलाई बेच्न सक्नुहुन्छ । तर, ईभीको ब्याट्री फेर्दिनँ भन्न पाउनुहुन्न । किनकि कुनै न कुनै दिन तपाइँले ब्याट्री फेर्नैपर्छ । त्यसबेला ब्याट्रीको एकमुष्ट ‘कस्ट’ आउँछ, त्यो फेस गर्न सकिन्छ सकिँदैन भविष्यको कुरा हो ।
अर्को, कम्पनीको स्थायित्वको विषयमा कन्जुमर स्वयंले विचार गर्नुपर्छ । गाडी निर्माता, यहाँको विक्रेतालगायतबारे राम्रो जानकारी राखेर गाडी खरिद गर्दा राम्रो हुन्छ । किनकि कम्पनीहरू यति प्रडक्ट बेचेपछि बन्द गरिहाल्छु भनेर खोलिएका हुँदैनन् । उहाँहरूले पनि स्थायित्व दिन हरसम्भव प्रयत्न गर्नुभएकै हुन्छ । तर, विभिन्न कारणले बीचमा समस्या आउन सक्छ । त्यसकारण कम्पनी कति लामो समयसम्म टिक्छ भन्ने कुरा र विक्रेताको स्टाटसबारे जति सकिन्छ जान्नु-बुझ्नु आवश्यक छ भन्ने मैले ठानेको छु ।
नेपालमा ईभी गाडीको अनुगमनका निम्ति कानुन छैन । जसका कारण जस्तो पनि ब्राण्ड नेपाल आउने, केही गाडी बेच्ने र त्यसपछि आयात वा उत्पादन नै बन्द हुने अवस्थाबाट नेपाली उपभोक्ता चिन्तित छन् । यसबारे तपाइँको धारणा के छ ?
मेरो विचारमा नेपालको सबैभन्दा कमजोर पक्ष नै यही हो । यसको फाइदा उठाएर उत्पादक कम्पनी मोटाउने र उपभोक्ता समस्यामा पर्ने स्थिति यदाकदा देखिएकै छ । जुन कानुन बनाएर अनुगमन भइरहेको छ त्यो पनि पर्याप्त र प्रभावकारी छैन । जस्तोः अहिले मोटरको क्षमताअनुसार ईभीमा कर लगाइएको छ, यो अव्यावहारिक र अवैज्ञानिक छ । त्यसमाथि रेटिङ सिस्टम नुहँदा जस्तो पनि सामान नेपाल भित्रिरहेका छन् । यसले अस्वस्थ प्रतिस्पर्धा बढ्नाका साथै उपभोक्ताको अधिकारसमेत कुण्ठित गरेको देखिन्छ । त्यसकारण यसका लागि प्रभावकारी कानुन सरकारले चाँडो बनाओस्, नेपालाई ईभीको टेस्टेड र डम्पिङ मुलुक हुनबाट रोकोस् ।
FACEBOOK COMMENTS