काठमाडौं । विगतमा उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानीसम्बन्धी विवाद वार्ताद्वारा समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले सम्बन्धित सबै पक्षमा आग्रह गरेको छ ।
विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परी गलत सन्देश जाने महासंघले बताएको छ ।
यो विवाद समाधानका लागि लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्ताद्वारा सबै पक्ष बसेर समाधान खोज्नु आवश्यक रहेको महासंघको ठहर छ ।
‘विभिन्न समयमा विभिन्न प्रत्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच मतभिन्नता रहेको छ । जसले गर्दा धेरै समयदेखि यो विषय अल्झिएको छ । बिजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्नेमा उद्यमीहरू तयार रहेको विदितै छ,’ महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाका लागि अन्त्य गर्न सर्वोच्च अदालतका पूर्वन्यायधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । तर, उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन ।
लाल आयोगको प्रतिवेदनको पृष्ठभूमिमा वार्ताका माध्यमबाट लामो समयदेखिको डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको सक्रिय भूमिका आवश्यक हुनेमा महासंघले जोड दिएको छ ।
तत्कालै काटिएका सम्पूर्ण उद्योगहरूका लाइन जडान गरी लाल आयोगको प्रतिवेदनको सिफारिसका आधारमा डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी समस्या समाधानको पहल गर्न महासंघले नेपाल सरकार एवं अन्य सम्बन्धित निकायसमक्ष माग गरेको छ ।
FACEBOOK COMMENTS