सप्तरी । सप्तरीस्थित नेपाल विद्युत् प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
चार्जिङ्ग स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी लाइन छाडिदिने बहानामा सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
अख्तियारको इटहरी कार्यालयबाट खटिएको विशेष टोलीले इन्जिनियर दासलाई सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिएको हो ।
सोमबार भएको यो कारबाहीमा घुस रकमसहित पक्राउ परेका दासमाथि अहिले भ्रष्टाचार निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् ।