काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पटक–पटक ताकेता गर्दा पनि विभिन्न ३१ वटा उद्योगले विद्युत् महसुल बुझाउन अस्वीकार गर्दै आएका छन् ।
मुलुकले चरम लोडसेडिङको सामना गरिरहेको बेलामा डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विशेष सुविधा उपभोग गरेका उद्योगहरूले महसुल तिर्न भने लामो समयदेखि आनाकानी गर्दै आएका हुन् ।
३१ वटामध्ये ६ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश ल्याएका कारण प्राधिकरणले पछिल्लो समय २५ वटा उद्योगलाई मात्र बक्यौता महसुल तिर्न बारम्बार ताकेता गर्दै आएको छ । तर, त्यसमध्ये केहीले महसुल बुझाउन सुरू गरे पनि अधिकांशले अझै अटेर गरिरहेका छन् ।
प्राधिकरणको पछिल्लो उर्दी अनुसार अशोक र हामा स्टिल्सले किस्ताबन्दीमा बक्यौता तिर्न सुरू गरेका छन् भने हुलास र लक्ष्मी स्टिल्स तथा सर्वोत्तम सिमन्टलगायतले पनि नयाँ किस्ता तिर्न थालेको प्राधिकरणले जनाएको छ । बाँकीले भने अझै अटेरी गरिरहेको भन्दै अब धमाधम विद्युत् आपूर्ति बन्द गर्ने प्राधिकरणको भनाइ छ ।
त्यसमध्ये नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारकाको अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिजसहित जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्समा मंगलबार नै विद्युत् आपूर्ति बन्द गरिसकिएको प्राधिकरणले जनाएको छ । गत असोज १२ गते डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता तिर्न प्राधिकरणले २१ कार्यदिनको अल्टिमेटम दिएको थियो । उक्त म्याद सकिएलगत्तै मंगलबार पहिलो चरणमा ती उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गरिएको प्राधिकरणको भनाइ छ । बाँकी उद्योगहरूमा पनि क्रमश: विद्युत् आपूर्ति बन्द गर्दै जाने योजनामा प्राधिकरण छ ।

सर्वाधिक महसुल बुझाउन बाँकी ठूला पाँच उद्योग

विद्युत् आपूर्ति बन्द गरिएका उल्लेखित ६ वटामध्ये पाँचवटा कम्पनीले सर्वाधिक महसुल बुझाउन बाँकी छ । विशेष सुविधा लिएबापत जगदम्बा स्टिलले सबै भन्दा बढी महसुल बुझाउन बाँकी छ । यो कम्पनीले कुल एक अर्ब ६० करोड १८ लाख रुपैयाँ महसुल बुझाउन बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ५५ करोड ८८ लाख, घोराही सिमेन्ट उद्योगले ५० करोड ८५ लाख र अर्घाखाँची सिमेन्ट इन्डष्ट्रीजले ४४ करोड ८४ लाख रुपैयाँ महसुल बुझाउन बाँकी छ ।

२५ वटा कम्पनीले कुल पाँच अर्ब ४८ करोड ४५ लाख रुपैयाँ महसुल बुझाउन बाँकी छ । तर, यी पाँच ठूला उद्योगले मात्रै करिब चार अर्ब अर्थात् तीन अर्ब ९८ करोड १२ लाख रुपैयाँ महसुल तिर्नुपर्ने छ ।

हाल महसुल तिर्न बाँकीमध्ये कतिपय उद्योगले समयमै महसुल बुझाउन खोजेका थिए, तर नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुरारकाको कमजोर नेतृत्व, राजनीतिक आग्रह र लहैलहैमा लागेर नबुझाएका कारण अहिले जटिल समस्यामा फसेको बताइन्छ ।
यस्तो छ महसुल नतिर्ने उद्योगहरूको सूची र बक्यौताको विवरण–

यो पनि पढ्नुहोस्–
२२ अर्ब विद्युत् महसुल बक्यौतामा पशुपति मुरारकाको शक्ति खेल : महासंघदेखि सरकारसम्म कब्जा !
FACEBOOK COMMENTS