काठमाडौं । सञ्चारकर्मी तथा कवयित्री एलिसा ढुङ्गानाको कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’ मंगलबार काठमाडौंमा लोकार्पण गरिएको छ ।
कवि तथा गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा धुम्बाराहीस्थित होटेल स्मार्टमा आयोजित भव्य समारोहमार्फत अधिकारीसहित कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल, कवि तथा प्राज्ञ डा. देवी नेपाल, कवि तथा पत्रकार मणि लोहनी, साहित्यकार जीतेन्द्र रसिक, चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी सुष्मा महरा र प्रकाशक एईएम ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार रेग्मीलगायतले संयुक्तरूपमा कृति लोकार्पण गरे ।
कार्यक्रममा सहभागी अतिथिहरूले कविता संग्रह ‘सौन्दर्यको भग्नावशेष’भित्रका कविताहरू वाचन गर्दै कृतिबारे विभिन्न कोणबाट विवेचना गरेका थिए ।
यसैक्रममा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दिनेश अधिकारीले एलिसाको कविताले जीवन र जगतका सत्यलाई सहज तर संवेदनशील ढंगले अभिव्यक्त गरेको उल्लेख गरे । उनका कविताले पाठकलाई गहिरो रूपमा स्पर्श गर्ने चर्चा गर्दै अधिकारीले कवियत्री ढुङ्गानाको आगामी साहित्यिक यात्रा सफलताको शुभकानमा दिए ।
यस्तै, कवि तथा सञ्चारकर्मी डा. नवराज लम्सालले कवितामा सपना र रहरका साथसाथै अवसाद (उत्साह र आशाको अभाव) र असन्तुष्टिका अवस्थाबीच अघि बढ्ने प्रेरणा पाइने बताए । यसैगरी, कवि तथा प्राज्ञ डा. देवी नेपालले ढुङ्गानाका कवितामा आजका मानिसका आशा र बाध्यता प्रकट भएको बताए ।
त्यस्तै, कवि तथा पत्रकार मणि लोहनीले एलिसाको कविताप्रतिको लगावले आफू प्रभावित भएको बताए भने साहित्यकार जीतेन्द्र रसिकले उनका कवितामा नयाँपन भेटिने चर्चा गरे । त्यस अवसरमा कवि एलिसा ढुंगानाले बाल्यकालदेखि नै कविताप्रतिको रुचि रहेको र आगामी दिनमा अझ नयाँ प्रयोग गर्ने इच्छा व्यक्त गरिन् ।
कार्यक्रममा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि गीता कार्की, विमला तुम्खेवा, उद्यमी शुष्मा महरालगायतले संग्रहभित्रका कविता वाचन गरेका थिए । पुस्तक प्रकाशकसमेत रहेको एईएम ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार रेग्मीले प्रकाशनको क्षेत्रमा पनि समूहको सक्रियता रहने बताउँदै सबैको सहयोगको अपेक्षा व्यक्त गरे ।
‘सौन्दर्यको भग्नावशेष’ कस्तो छ ?
एईएम ग्रुपद्वारा प्रकाशित उक्त संग्रह तीन खण्डमा विभक्त छ भने ३८ वटा कविता समेटिएका छन् । कवि तथा कलाकार रमेश श्रेष्ठले पुस्तकको आवरण तयार पारेका छन् भने कविवर वैरागी काइँलाले भूमिका लेखेका छन् ।
भूमिका लेख्ने क्रममा कविवर काइँलाले युवा पुस्ताका प्रेरणा कवि शशी लुमुम्बूका माध्यमबाट युवा कवि एलिसा ढुङ्गानाका सुन्द कविताहरूको रस्वादन गर्न पाएको औधि धेरै खुसी व्यक्त गरेका छन् । उनले कृतिमा समावेश ‘रिसको विपक्षमा’ शीर्षकको कविताले आफूलाई पहिलो दृष्टिमै स्पर्श गरेको उल्लेख गरेका छन् ।
सो कवितामाथि चर्चा गर्दै काइँलाले लेखेका छन्, ‘कस्तो सुन्दर भाव ! वास्तवमा रिस भनेको क्षणिक हुन्छ । खतरनाक हुन्छ । यस्तो क्षणिक रिसको सनकले क्षणभरमै संसारमा कस्तो–कस्तो विध्वंश गरिरहेको हुन्छ । रिस भनेको सौन्दर्यको दुश्मन हो । यस्तो दुश्मनका विरुद्धमा उभिनु नै स्रष्टाको कर्तव्य हो । हामी यस्ता दुश्मनबाट टाढै रहनुपर्छ । यसर्थ यो कविता निकै सशक्त छ ।’
उनले कृतिभित्रका सबै कविता राम्रा रहेको भन्दै कविताहरू समाज, संस्कृति, मानवता, प्रेमप्रणय, प्रकृति, राष्ट्र–राष्ट्रियतालगायत विषयमा केन्द्रित रहेको उल्लेख गरेका छन् । कविताहरूले समृद्ध र सुसंस्कृत समाजको परिकल्पना र सत्मार्ग पहिल्याउन मार्गनिर्देश गरेको काइँलाको ठम्याई छ ।
त्यस्तै, कवि शशी लुमुम्बूले कविताका नाममा कुराकानी लेखिन थालेको, कवितातत्व मलिन देखिँदै गएको, कवित्वमा ह्रास आइरहेको वर्तमान परिप्रेक्ष्यमा कविताकर्ममा समर्पित हुनु बढो चुनौती मोल्नु रहेको चर्चा गर्दै कवियत्री ढुङ्गानाले ‘सौन्दर्यको भग्नावशेष’ फेरि एकपटक पाठकहरुको मस्तिष्कलाई झट्का दिएको उल्लेख गरेका छन् । कवितालाई कुराकानी हुनबाट बचाउन र कविताको मलिन अनुहारलाई उज्यालो बनाउन एलिसाले निकै श्रम गरेको उनको भनाइ छ ।
त्यसैगरी कवयित्री विमला तुम्खेवाले ‘सौन्दर्यको भग्नावशेष’भित्र वर्तमान समाजमा व्याप्त असमानताको विरोधमा बोलिरहेका चर्को स्वरहरु रहेको र त्यसले समुद्रझैँ शान्त तर निक्कै भयङकर अस्तित्व लिएर उभिएको उल्लेख गरेकी छिन् । ढुङ्गानाको कविता पढ्दा आजको नेपाली कविताको स्वरलाई सुनिने अनुभूति उनले व्यक्त गरेकी छिन् ।
यसैगरी साहित्यकार मणि लोहनीले सपना, प्रेम, त्रास र यात्रा कविताका लागि ढुङ्गानाको कच्चा पदार्थ भएको र अक्षत विम्ब, कलात्मक भाषा र मुलायम अभिव्यक्तिले कविता पठनीय बनेको चर्चा गरेका छन् ।
FACEBOOK COMMENTS