काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेले सरकारी कर्मचारीलाई भ्रमण बिदा दिने कार्यविधि अन्तिम चरणमा पुगेको छन् ।
आज आइतबार मन्त्री आलेलाई भेट्न गएको नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् । भ्रमण बिदासम्बन्धी कार्यविधि पारित भएर आएपछि नेपालको पर्यटन उद्योगमा केही राह मिल्ने मन्त्री आलेको भनाइ छ ।
‘सरकारी कर्मचारीलाई भ्रमण बिदा दिने कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ, त्यसलाई पनि छिट्टै जारी गर्छौं,’ पर्यटनमन्त्री आलेले भने ‘कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागेका छौं ।’
मन्त्रीसँगको भेटका अवसरमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए ।
परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट नेपाललाई बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएको बताउँदै ती विधेयक छिट्टै पारित गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS