काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई जस्ता अत्याधुनिक टुल्सहरु आएकाले सिभिल इन्जिनियरहरुले पनि उक्त विषयहरुमा दख्खल राख्नुपर्ने पोखरा विश्वविद्यालयका डीन सहप्राध्यापक बुद्धिराज जोशीले बताउनु भएको छ ।
शुक्रबार चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरा गरेका विद्यार्थीहरुलाई विदाई गर्दै डीन जोशीले पछिल्लो समय भित्रिएका डेटा साइन्स, मसिन लर्निङ, एआई जस्ता टेक्नोलोजीहरुमा इन्जिनियरहरु अभ्यस्त हुनुपर्ने बताउनु भएको हो ।
कलेजका २०१९ र २०२० ब्याचका सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुलर इन्जिनियरिङ अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गर्दै सहप्राध्यापक डीनले स्नातक तहमा गरेका रिसर्चहरु बेसिक मात्र हुने भएकोले त्यो भन्दा माथिल्लो तहसम्म अध्ययन गर्नुपर्ने र जीवनमा असल मान्छे बन्न जोडदिनु भयो । ‘ब्याचलर पुरा गरेर तपाईहरु राम्रो विद्यार्थी त बनिसक्नु भयो अब असल मान्छे बन्नुपर्छ । यो नै सबैभन्दा ठूलो च्यालेञ्ज हो ।
अनुशासनमा बस्नु नै ठूलो कुरा हो ।’ पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेसिई रहेको परिप्रेक्ष्यमा उहाँले नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने जिकीर गर्नुभयो । ‘ब्याचलर, मास्टर्स तहमा नेपालमा सिभिल इन्जिनियरिङका सबै कार्यक्रमहरु राम्रा छन् । विदेश जानुपर्छ भन्ने छैन । मास्टर्स लेवलमा जानका लागि रिसर्चलाई बढी फोकस गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
सह–प्राध्यापक जोशीले सिभिल इन्जिनियरहरुलाई गल्ती गर्ने छुट नभएको भन्दै पेशागत मर्यादा र जिम्मेवारीमा रहेर काम गर्न अनुरोध गर्नुभयो । ‘डाक्टरले उपचारमा एउटा गल्ती गर्दा एक जना बिरामीको ज्यान जान्छ, तर, सिभिल इन्जिनियरले गल्ती गर्दा हज्जारौं नागरिकको ज्यान जान सक्छ त्यसकारण सिभिल इन्जिनियर बढी जिम्मेवार हुनुपर्छ । यस विषयमा ध्यान दिनुपर्छ ।’ देश बनाउनु भन्दा पहिले आफु सक्षम बन्नुपर्ने भन्दै उहाँले मानव संसाधनमा नेपाल राम्रो रहेको तर्क गर्नुभयो ।

साथै, डीन जोशीले कलेजबाट पास आउट भएका विद्यार्थीहरु पोखरा विश्वविद्यालय र कलेजको एम्बाष्डर भएको भन्दै विश्वविद्यालय र कलेजको नाम उच्च राख्ने गरी काम गर्न सुझाउनु भयो ।

नेपाल इन्जिनियरिङ कलेज विश्वविद्यालय भन्दा पनि पुरानो इतिहास बोकेको कलेज भएको भन्दै उहाँले कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु भाग्यमानी रहेको जिकीर गर्नुभयो । केही समय अगाडी कलेज समस्यामा रहेपनि पछिल्लो समय राम्रो बन्दै गएको भन्दै उहाँले कलेज बचाउन पूर्वविद्यार्थीहरुको सक्रियता रहनुपर्ने पनि औंल्याउनु भयो । साथै, नयाँ पाठ्यक्रम तयार गर्न विश्वविद्यालयले कलेजलाई सिस्टम भित्र रहेर सहकार्य गर्न सदैव तत्पर रहेको जनाउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष सह–प्राध्यापक विकास अधिकारीले काउन्सिलले लिने परीक्षा पास गरेर मात्र व्यवसायिक जीवनमा लाग्न सुझाउनु भयो । नेपाल इन्जिनियरिङ कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरु अब्बल रहेको चर्चा गर्दै उहाँले इन्जिनियरिङ पेशालाई मर्यादीत र व्यवसायिक गर्न काउन्सिल लागेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अथिती तथा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी लगायतले कलेजले प्रदान गरेको इन्जिनियरिङ शिक्षा, विद्यार्थीहरुको योग्यता र भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनो तथा उत्कृष्ट भएका विद्यार्थीहरुलाई मेडल प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा २०१९ र २०२० का २०० विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।


FACEBOOK COMMENTS