काठमाडौं । युरोपेली नेसन्स लिग अन्तर्गत समूह ए ३ को खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई २–० ले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
खेलको पहिलो हाफमा चेक रिपब्लिकका पाभेल शुल्च रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इंग्ल्यान्डले १० खेलाडीमा सीमित घरेलु टोलीमाथि दबाब बढाएको थियो । पहिलो हाफमै मोर्गन रोजर्सको प्रहार पोस्टमा लागेको थियो भने चेक रिपब्लिकका गोलरक्षक मातेय कोभाजले ह्यारी केनको उत्कृष्ट प्रहार बचाएका थिए ।
दोस्रो हाफ सुरु भएको केही समयमै इंग्ल्यान्डले अग्रता लियो । ट्रेन्ट एलेक्जान्डर–आर्नोल्डको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–० ले अघि बढाए । त्यसपछि कप्तान ह्यारी केनले इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । चेक रिपब्लिकको रक्षापंक्तिबाट आएको फितलो क्लियरेन्सको फाइदा उठाउँदै केनले छिटो प्रतिक्रिया जनाएर बललाई जाली चुमाएका थिए । इंग्ल्यान्डले यसअघि पहिलो खेलमा स्पेनसँग ३–२ को हार बेहोरेको थियो । चेक रिपब्लिक भने पहिलो खेलमा क्रोएसियासँग २–१ ले पराजित भएको थियो ।
समूह ए ३ मा इंग्ल्यान्डको दुई खेलबाट तीन अंक भएको छ । स्पेनले पहिलो दुई खेल जित्दै ६ अंक जोडेको छ भने क्रोएसिया र चेक रिपब्लिकको पनि समूहमा प्रतिस्पर्धा जारी छ ।
