कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घरखर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छन् ।
उनले महिनामै ६० हजार रुपैयाँ बढीको कारोबार गर्नुहुन्छ । खर्च कटाएर ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नुपर्यो । त्यसपछि बेरोजगार भएकी उनमा खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गरिन् ।
फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे दुविधा उत्पन्न भयो । त्यहीबेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको ।
‘इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थेँ । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निर्क्यौल गरी व्यवसाय सुरु गरेँ,’ चन्दले सुनाइन् ।
एक लाख रुपैयाँबाट सुरु गरिएको व्यवसायबाट उनले हाल पाँच लाख रुपैयाँको सामान थपेकी छन् । युट्युबबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् ।
ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले बताइन् ।
बकसरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन् । भविष्यका लागि भनेर उनले मासिक आठ हजार रुपैयाँजति सहकारीमै बचत गर्दै आएकी छन् ।
‘घरको खर्च पसलकै कमाइले धानिएको छ । छोरीलाई पसलकै कमाइबाटै पढाउन थालेकी छु,’ चन्दले भनिन् ।
FACEBOOK COMMENTS