वाणिज्य बैंकले मनोमानी ढंगले ब्याजदर निर्धारण गर्न थालेपछि उद्योगी व्यवसायी असन्तुष्ट बनेका छन् ।
वाणिज्य बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा ११ प्रतिशत भन्दा बढी पुर्याएका छन् । कर्जामा पनि बैंकको ब्याज निकै बढेको छ । कोरोना महामारीको समयमा पनि मनग्य नाफा आर्जन गरेका वाणिज्य बैंकहरुले धमाधम ब्याज बढाउन थालेका छन् ।
बैैंकहरुले ब्याज बढाउन थालेपछि उद्योगी व्यवसायी भने निकै रुष्ट बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य हेमराज ढकाल लगायतका उद्योगीहरुले बढेको ब्याजदरको विरोध गरेका छन् ।
बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदरले कोरोना महामारीबाट तहसनहस भएको ब्यवसाय अलिकत माथि उठन लागेको बेला बढेको ब्याजदरले निकै त्रसित बनाएको उनको भनाई छ ।
अहिलेसम्म कोरोना महामारीको असर कम नभएको भन्दै यस्तो अवस्थामा बैंकले मनलाग्दी ब्याज बढाएर आफ्नो सामाजीक उत्तरदायित्वबाट विमुख हुन खोजेको सबै उद्योगी ब्यवसायीको बुझाई रहेको एक व्यवसायीले बताए ।
हरेक बैंकले आफ्नो निक्षेप र कर्जाको व्याज निर्धारण गर्नु बैंकको अधिकार नै हो । अझ नेपाल राष्ट्र बैंकले त हरेक महिनाको अन्तिम दिनसम्म आगामी महिनाको ब्याजदर सार्वजनिक गर्न भनेको छ । सोही अनुसार बैंकले कात्तिक महिनाको ब्याजदर सार्वजनिक गरेको हो । अहिलेको बिषम अवस्थामा राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएशनले यसमा अंकुश लगाउनु पर्ने उद्योगी व्यवसायीको माग रहेको छ । अहिले केही बैंकले ब्याजदर धेरै नै बढाएका छन् । केही व्यवसायीले बैंकले ब्याजदर बढाउन होडबाजी गर्दा तत्काल नभएपनि दिर्घकालिन समयमा कुनै न कुनै रुपमा अर्थतन्त्रमा नकारात्मक असर पर्ने बताउन थालेका छन् ।
मनग्य नाफा कमाए पनि बैंकहरु धमाधम ब्याज बढाउन थाल्दा राष्ट्र बैंकको नेतृत्वप्रति उद्योगी व्यवसायीहरुले केही अपेक्षा रहेको बताउन थालेका छन् ।
तरलता अभाबको नाममा बैंकहरुले ब्याजदर बढाएपनि भविश्यमा पर्ने असरको बारेमा अहिले नै राष्ट्र बैंकले सोच्नुपर्ने उद्योगी व्यवसायीहरुको माग रहेको छ ।
बैंकहरुले मनलाग्दी रुपमा ब्याजदर निर्धारण गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पनि ब्याजदर बढेको प्रति विरोध जनाएका छन् । ‘दशैंपछि दशा आउँछ त्यस्तै बैंकहरुले ब्यवसायीहरुको दशा ल्याउन खोजेको छ’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
त्यस्तै नेपाल उद्योग वणिज्य महासंघकै कार्यकारणी सदस्य प्रबलजंग पाण्डेले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन् हरेक बैकले आफ्नो निक्षेप र कर्जाको व्याज दर निर्धारण गर्नु बैंक को अधिकारको कुरा हो । तर अहिले को बिषम अवस्था मा नेपाल राष्ट्र बैंक र नेपाल बैकर एसोसियेशन को प्रयास को वाबजुत पनि केही बैंक हरु को निक्षेपको व्याज दर बृद्दी को होडबाजी ले अर्थतन्त्र मा नकारात्मक असर पर्ने निश्चित छ ’ ।
बैंकले मनोमानी रुपमा ब्याजदर बढाएपछि उद्योगी व्यवसायीबाट पनि चर्को विरोध सुरु भएको छ । यो सँगै राष्ट्र बैंक तथा बैंकर्स संघले कस्तो निर्णय गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।
FACEBOOK COMMENTS