काठमाडौँ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले आज देशभर सम्पन्न भएको निर्वाचन समग्रमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ ।
समितिका अध्यक्ष श्रीकृष्ण सुवेदीद्वारा जारी विज्ञप्ति अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खटिएका पर्यवेक्षकहरूबाट प्राप्त प्रारम्भिक जानकारीले अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सामान्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको देखाएको छ ।
समितिका अनुसार केही स्थानमा छिटफुट विवाद तथा घटनाका कारण केही समयका लागि मतदान प्रक्रिया अवरुद्ध भए पनि सम्बन्धित निकायको सक्रियतामा पुनः मतदान सुरु गरिएको थियो ।
जेनजी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न यस निर्वाचनमा युवा मतदाताको सहभागिता मिश्रित देखिएको समितिले जनाएको छ । प्रारम्भिक सूचनाअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण र पहाडी भेगमा युवा मतदाताको सहभागिता अपेक्षाभन्दा कम देखिएको छ भने महिला मतदाताको सहभागिता पुरुषको तुलनामा उत्साहजनक रहेको उल्लेख गरिएको छ ।
केही स्थानमा विभिन्न प्रतिबद्धता समयमै सम्बोधन नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएका कारण मतदाताहरू मतदान प्रक्रियामा सहभागी हुन नआएको समेत पर्यवेक्षणका क्रममा देखिएको समितिले जनाएको छ। विशेषगरी दाङ, दार्चुला र बझाङका केही मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून देखिएको बताइएको छ ।

त्यस्तै तराईका अधिकांश जिल्लामा मतदाता शिक्षाको अभावका कारण मत बदरको संख्या बढ्न सक्ने अनुमान समितिले गरेको छ । समितिले केही मतदान केन्द्रभित्र पर्यवेक्षकहरूलाई प्रवेश गर्न अवरोध गरिएको जानकारी पनि आएको जनाएको छ । यस्ता घटनाले स्वतन्त्र र प्रभावकारी निर्वाचन पर्यवेक्षण सुनिश्चित गर्न सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको औँल्याइएको छ ।

यसैबीच केही स्थानमा मृत्यु भइसकेका व्यक्तिहरूको नाम समेत मतदाता नामावलीमा कायम रहेको तथा मतदाता सूची पूर्ण रूपमा अद्यावधिक नभएको विषय पनि देखिएको समितिले जनाएको छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने समितिको भनाइ छ ।


FACEBOOK COMMENTS