काठमाडौँ । अमेरिकाको चर्चित यौन प्रकरण जेफ्री एपस्टाइनसँग सम्बन्धित तीन लाख भन्दा बढी फाइल अमेरिकी न्याय विभागले सार्बजनिक गरेको छ ।
यी कागजातहरूमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पप गायक माइकल ज्याक्सन, हलिउड अभिनेता क्रिस टकर र बेलायती राजकुमार एन्ड्रयू जस्ता प्रमुख व्यक्तित्वहरूको तस्बिरहरू रहेको छ । केही तस्बिरहरूमा क्लिन्टनले पोखरीमा पौडी खेलेको र महिलाहरूसँग पार्टी गरिरहेको देखाइएको छ । यी तस्बिरहरू सुरुमा चार सेटमा जारी गरिएको थियो, त्यसपछि केही घण्टा पछि अर्को सेट जारी गरिएको थियो ।
यस फाइलमा रहेका धेरै तस्बिरहरू कुन स्थानका हुन् भन्ने स्पष्ट रहेको छैन । न्याय विभागले केही कागजातहरू हाल जारी अनुसन्धान वा राष्ट्रिय सुरक्षा चिन्ताका कारण रोकिएको समेत जनाएको छ ।
जेफ्री एपस्टाइन एक फाइनान्सर र दोषी ठहरिएका यौन अपराधी थिए जसको जेलमा मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १८ मा कानूनमा हस्ताक्षर गर्दै एपस्टाइनसँग सम्बन्धित सबै कागजातहरू ३० दिन भित्र जारी गर्ने आदेश दिइएको थियो अहिलेसम्म सार्बजनिक गरिएका फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पप स्टार माइकल ज्याक्सन, बेलायतका प्रिन्स एन्ड्रयू र उनकी श्रीमती सारा फग्र्युसन, अमेरिकी होस्ट ओप्रा विन्फ्रे, हलिउड अभिनेता केभिन स्पेसी र क्रिस टकर, अरबपति रिचर्ड ब्रान्सनका तस्वीरहरु देखिएको छ ।
एपस्टाइनका प्रारम्भिक पीडितहरू मध्ये एक, जेस माइकल्सले न्याय विभागको भ्रष्टाचार र फाइलहरू जारी गर्ने ढिलाइले उनीहरूले केही लुकाइरहेका छन् भनेर प्रमाणित गरेको प्रतिक्रिया दिएकी छन् । जेस १९९१ मा एपस्टाइनले २२ वर्षकी हुँदा र नर्तकी बन्न तालिम लिँदा यौन दुव्र्यवहारको शिकार भएकी थिइन् । उनी ती पीडितहरूमध्ये एक थिइन् जसले द्विदलीय कानूनको लागि पैरवी गरेकी थिइन् ।
अर्की पीडित, मारिजके चार्टौनीले सबै कुरा सम्पादन गरिएको र पारदर्शिता नभएको भन्दै प्रश्न गरेकी छन् । उनी २० वर्षकी हुँदा एपस्टाइनले यौन दुव्र्यवहार गरेको थियो । जारी गरिएका फाइलहरूमा रहेको एउटा कागजातले एपस्टाइनकी अर्की प्रारम्भिक पीडित मारिया फार्मरले १९९६ मा उनी विरुद्ध उजुरी दायर गरेको खुलासा गरेको थियो, तर एफबीआईले समयमै अनुसन्धान नगरेको बताइएको छ ।

मारिया फार्मरले उनको उजुरी सार्वजनिक भएको देखेर उनी राहत महसुस गरेको तर एफबीआईको मौनताले पनि दु:खी भएको बताएकी छन् । उनकी बहिनी, एनी फार्मरले रिहाइमा पारदर्शिताको अभावले उनलाई निराश बनाएको प्रतिक्रिया दिएकी छन् । अर्की पीडित, मारिना लार्सेडाले तस्बिरहरू प्राय: बेकार रहेको र धोका दिइएको बताउदै सरकारले संरक्षण गरिरहेकाहरूको नाम खुलासा हुने प्रतीक्षामा रहेको बताएकी छन् ।

उनी १४ वर्षको उमेरमा एपस्टाइनको शिकार भएकी थिइन् र २०१९ को अनुसन्धानमा साक्षी थिइन् । पीडितहरूले यो रिहाइ उनीहरूप्रति अन्यायपूर्ण भएको र अपराधीहरूलाई बचाउने प्रयास जस्तो देखिएको बताएका छन् । जारी गरिएका तस्बिरहरूमा जेफ्री एपस्टाइनको भिल्लाका तस्बिरहरू समावेश छन् । यी तस्बिरहरूमा कोठाहरूमा जडान गरिएका क्यामेराहरू देखाइएका छन् । मसाज कोठाहरूमा पनि लुकेका क्यामेराहरू जडान गरिएका थिए, जुन पीडितहरूलाई रेकर्ड गर्न प्रयोग गरिन्थ्यो ।

FACEBOOK COMMENTS