काठमाडौं । विगत ५ बर्ष देखि विद्युतीय तीन पाँग्रे सवारीसाधन आयात गरी त्यसको बिक्रि तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको श्री आरोग्य मोटर्सले विद्युतीय दुइ पाँग्रे सवारीसाधनको बिक्रि गर्ने भएको छ ।
चीनबाट पार्ट्सहरु ल्याइ नेपालमा नै एसेम्बल गरेर नेपाली ब्राण्ड (एरोमा) को नाममा तीन पाँग्रे सवारीसाधन बिक्री गर्दै आइरहेको उक्त कम्पनीले अब दुई पाँग्रे सवारीसाधन पनि एरोमा ब्राण्ड नेम राखेर आयात तथा बिक्रि वितरणको व्यवस्था मिलाइएको जनाएको छ ।
त्यसका लागि डिलर नेटवर्क र शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रिका लागि व्यवस्था मिलाइकोे कम्पनीले जनाएको छ ।
कम्पनीले हालसम्म काठमाण्डांै, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न ठाउँमा डिलर तथा शाखा कार्यालयहरु रहेको जनाएको छ । अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ ।
पहिलो चरणमा एरोमा स्कुटरका विभिन्न ३ मोडेल र ५ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछन् । ३००० वाट क्षमताको मोटर जडित ती स्कुटरहरुमा ७२ भोल्टका ५० तथा ६० एएच लिथिएम बेट्री प्याक उपलब्ध हुनेछन् । ५० एएच बेट्री प्याक भएका स्कुटरको मुल्य २ लाख ५८ हजार र ६० एएच बेट्री प्याक भएको स्कुटरको मुल्य २ लाख ७२ हजार राखिएको कम्पनीले जनाएको छ ।
असौजको १२ गते देखि ती स्कुटरहरु क्रमशः वितरण गर्ने गरी तयारी रहेको छ ।
२ घण्टा भन्दा कम समयमा फुल चार्ज गर्न सकिने डेडिकेटेड चार्जर उपलब्ध हुनेछ । एक पटकको फुल चार्जमा करिब १५० किलोमिटर सम्मको रेन्ज दिने भएकाले पनि धेरैको रोजाईमा एरोमा स्कुटर पर्नेमा कम्पनी विश्वस्त रहेको जनाइएको छ ।
१६० एमएम ग्राउण्ड क्लियरेन्स भएकाले कच्ची तथा पक्की दुबै खालको बाटोमा एरोमा स्कुटर चलाउन सहज हुनेछ ।
पर्वको अवसरमा लक्की ड्र मार्फत १० जनालाई गोसाईकुण्डको हेलि टुरको फेस्टिवल स्किम राखिएको समेत कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS