काठमाडौं । एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आज असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ।
कम्पनीले १ः०.४२ अनुपातमा कूल १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर जारी गरेको हो।
यसका लागि प्रतिकित्ता १ सय रुपैयाँ दरले कूल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री खुला गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले यसअघि जेठ १६ गते बुक क्लोज गरिसकेको थियो। त्यसैले जेठ १५ गतेसम्म कम्पनीको शेयरधनी कायम भएका लगानीकर्ताले मात्र यो हकप्रद शेयरमा दाबी गर्न पाउनेछन्।
लगानीकर्ताहरूले आगामी साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन्। यस हकप्रद शेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको जिम्मेवारी सम्हालेको छ।
लगानीकर्ताहरूले मुक्तिनाथ क्यापिटलको नारायणचौर, नक्सालस्थित कार्यालय, एसियन लाइफ इन्सुरेन्सका तोकिएका शाखा कार्यालयहरू तथा धितोपत्र बोर्डबाट आस्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर प्रणालीमार्फत पनि सजिलै आवेदन दिन सकिने छ।
हाल एसियन लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।
FACEBOOK COMMENTS