काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाको त्रैमासिक आम्दानीमा व्यापक गिरावट आएको छ । कम्पनिको कुल आम्दानीमा कीर्तिमानी वृद्धि भएपनि खुद नाफा ३७ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ ।
कम्पनीले यो गिरावट अनुसन्धान र विकाससँग सम्बन्धित शुल्क र अतिरिक्त लागतका कारण भएको बताएको छ ।
सेप्टेम्बर त्रैमासिकमा टेस्लाको राजस्व २८ अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ ।
कम्पनीले कर क्रेडिटको म्याद सकिनुअघि अमेरिकी ग्राहकहरूले गरेको भारी खरिदका कारण यो वृद्धि भएको बताएको छ । कम्पनीका शेयरधारकहरूले नोभेम्बरमा सीईओ एलोन मस्कको नयाँ तलब प्याकेजमा मतदान गर्नेछन्, जुन सम्भावित रूपमा १ ट्रिलियन डलरसम्मको हुन सक्छ । यद्यपि, नतिजा घोषणा भएपछि टेस्लाको शेयर ३.८ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS