काठमाडौँ । जुम्लाको सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा आएका छन् । यहाँका नागरिक उपचार गर्नका लागि जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँ लगायत ठूला सहरमा पुग्नुपर्ने बाध्यता थियो । अहिले जिल्लामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएपछि उपचारमा केही सहज भएको स्थानीयवासी बताउँछन् ।
आँखाको उपचारका लागि यहाँका स्थानीय तहमा आँखा उपचार केन्द्र पनि थपिँदै गएका छन् । सिञ्जा भेगमा रहेका हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिका सदरमुकाम खलङ्गाबाट निकै टाढा छन् । हिमा गाउँपालिकालाई हिमालय आँखा अस्पतालले स्वास्थ्य सामग्री सहयोग तथा पालिकाको प्राविधिक सहयोगमा सेवा सञ्चालन गरेको छ । आँखा उपचार केन्द्रका लागि चाहिने मेसिनलगायत सबै सामग्री हिमालय आँखा अस्पताल पोखराले उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए ।
पालिकास्तरीय आँखा उपचार केन्द्र सञ्चालनका लागि चिकित्सकको व्यवस्थापन पालिकाले गर्ने छ । धुलो धुँवाका कारण गाउँमा आँखाका बिरामी बर्सेनि बढ्दैछन् । “शिविर सञ्चालन गर्दा भीड हुने, टाढा गएर उपचार गराउन आर्थिकले नभ्याउने हुँदा नागरिकको राहतका लागि पालिकामै आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो”, अध्यक्ष शाहीले बताए ।
कनकासुन्दरी गाउँपालिकाको हाँडसिञ्जा स्वास्थ्यचौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हाँडसिञ्जा स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले जानकारी दिए । सिञ्जा गाउँपालिकाले पनि नराकोटमा गत वर्षदेखि आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ । सो गाउँपालिकाले पनि नेपाल नेत्रज्योति सङ्घको समन्वयमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । आँखा उपचार केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाले आँखा उपचारसम्बन्धी दक्ष एक जना नायब सुब्बास्तरको कर्मचारी व्यवस्थापन गरेको छ । नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका ज्येष्ठ नागरिक तथा आँखासम्बन्धी बिरामी भएका व्यक्तिलाई राहत पुगेको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँमा एक घर एक धारा निर्माण हुँदा स्थानीयवासीलाई राहत भएको छ । एउटै धारोमा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने स्थानीयको बाध्यता अहिले हटेको स्थानीयवासी धनलाल बस्नेतले बताए । विसं २०५९ मा बनेको धारा जीर्ण भएको र पानीको मुहान सुकेपछि खानेपानीले काकाकुलजस्तै बनेको सो वडाको जुम्लाकोट गाउँमा अहिले एक घर एक धारा पुगेको तिला गाउँपालिका उपाध्यक्ष गेरीकला बुढाले जानकारी दिइन् ।
अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए । धारामा पानी आएर स्थानीयवासीले खानेपानीको प्रयोग गरिसकेका छन् । कुल रु ६९ लाख ९२ हजार लागतमा खानेपानी धारा निर्माण भएको छ । २० घनमिटरको दुईवटा पानी सङ्कलन ट्याङ्की बनेका छन् । अब पानी ल्याउन टाढा जानु पर्दैन । समयको समेत बचत भएको जुम्लाकोटका स्थानीयवासी बताउँछन् ।
FACEBOOK COMMENTS