काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ७ सय विद्युतीय कार आयात भएका छन् । उक्त वर्ष २९ अर्ब ४८ करोड रुपैयाँबराबरका त्यस्ता विद्युतीय कार आयात भएका हुन् ।
आव २०८०–८१ मा ११ हजार ७ सय विद्युतीय कार आयात हुँदा सरकारले १३ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ७ सय १ वटा विद्युतीय कार आयात भएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ५० किलोवाटसम्म क्षमता भएका ४ हजार ५ सय कार र ५० देखि १०० किलोवाट मोटर क्षमताका ६ हजार ८ सय ८५ वटा विद्युतीय कार आयात भएका छन् ।
त्यस्तै १०१ देखि २०० किलोवाट क्षमतासम्मका २ सय १७ वटा आएका छन् । २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका २७ वटा र ३०० किलोवाटमाथिको एउटा विद्युतीय कार आयात भएको हो । आव २०७९–८० मा ४ हजार ५० वटा विद्युतीय कार आयात भएको थियो । आव २०७९–८० को तुलनामा २०८०–८१ मा विद्युतीय कार आयात १८८.९१ प्रतिशतले बढेको तथ्याङ्क छ ।
अघिल्लो वर्ष ११ अर्ब ८४ करोड रुपैयाँबराबरको ४ हजार ५० वटा विद्युतीय कार आयात भएको विभागले जनाएको छ । ती विद्युतीय कार आयात हुँदा सरकारले ३ अर्ब ३० करोड ४४ लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । ती वर्षमा ५० किलोवाट क्षमताका कार धेरै आएका थिए । ५० किलोवाटसम्मका ३ हजार ७ सय ५९ वटा विद्युतीय कार आयात भएका थिए ।
पछिल्लो समय विद्युतीय कारमा आम जनमानसको चासो बढेसँगै आयात पनि बढेको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय चीनबाट सबैभन्दा बढी विद्युतीय कारहरू आयात हुँदै आएको छ । नेपाली बजारमा चीन, भारत, दक्षिण कोरिया, इन्डोनेसिया, जर्मनीलगायतका देशबाट विद्युतीय कार आयात भइरहेका छन् ।
FACEBOOK COMMENTS