काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबिच रहेको गठबन्धन कायम रहने बताए । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए ।
विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरूबिच बाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको भन्दै मन्त्री श्रेष्ठले सत्ता गठबन्धनबिच सहकार्य चुनावपछि पनि जारी रहने बताए । संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि आफूहरूले गठबन्धन बनाएको उनको भनाइ छ ।
जनताको समृद्धिको आकाङ्क्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले निरन्तररुपमा अघि बढाउने उनले बताए । काठमाडौँ ८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि आफू उम्मेदवार बनेको मन्त्री श्रेष्ठले बताएका थिए । विगतमा राष्ट्रियसभा निर्वाचनदेखि सुरु भएको गठबन्धन अभ्यास सफल हुँदै आएको बताउँदै उनले गठबन्धनका दलहरूबिच चुनावमा इमान्दारिता कायम हुने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS