काठमाडौँ, भदौ १३ । चालू आर्थिक वर्षका लागि सरकारले रासायनिक मल खरिद गर्नका लागि बजेट वृद्धि गरे पनि मल भने कम आयात हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले यो वर्ष कम आयात गरिने भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गत वर्ष चार लाख मेट्रिक टन मल आयात भएको थियो । यो वर्ष एक अर्ब बजेट बढाए पनि अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले पनि दुई लाख २० हजार मेट्रिक टन मात्र मल आयात हुने मन्त्रालयको भनाइ छ ।
गत वर्ष रासायनिक मलका लागि ११ अर्ब बजेट विनियोजन गरेको थियो । मन्त्रालयका उपसचिव गंगादत्त आचार्यले यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले कम मल आयात हुने जानकारी दिए । अहिलेको बजेटअनुसार पाँच लाख मेट्रिक टन मल ल्याउने लक्ष्य रहे पनि मूल्य बढेकाले दुई लाखसम्म ल्याउने सकिने देखिएको जानकारी दिए । मन्त्रालयका अनुसार गत वर्ष प्रतिमेट्रिक टन ४५० डलर पुगेको डीएपी मल अहिले बढेर ६५२ पुगेको छ ।
मन्त्रालयका अनुसार, मुलुकमा धानका लागि एक लाख मेट्रिक टन युरिया, ७५ हजार मेट्रिक टन डीएपी, १० हजार मेट्रिक टन पोटास आवश्यक पर्छ । यस्तै गहुँका लागि ७५ हजार मेट्रिक टन युरिया, ५० हजार मेट्रिक टन डीएपी र ५० हजार मेट्रिक टन पोटास आवश्यक पर्छ । यस्तै गत वर्ष प्रतिमेट्रिक टन ४५० डलर रहेको युरियाको मूल्य अहिले बढेर ६५० पुगेको छ ।आजको कारोबार दैनिकबाट ।
FACEBOOK COMMENTS