काठमाडौं । एभेष्ट बैंकको नाफा र प्रतिशेयर आम्दानी दुवै बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको यो नाफा ३२.५५ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १९.७२ प्रतिशतले बढेर ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि ३६.४१ प्रतिशतले बढेर ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष ६३ करोड ७१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर २७ करोड २९ लाख ९८ हजार रुपैयाँ आएको छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
यता, बैंकको प्रतिशेयर आम्दानी पनि ६.०६ रुपैयाँले बढेर ३५ रुपैयाँ ६१ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा छ ।
FACEBOOK COMMENTS