काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक एभरेष्ट बैंकले ‘बैंक अफ द इयर अवार्ड, २०२५’ प्राप्त गरेको छ ।
कर्पोरेट म्यागजिनले बैंकलाई सो अवार्ड प्रदान गरेको हो ।
बिहीबार काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटेलमा आयोजित ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहमा बैंकलाई सो अवार्ड प्रदान गरिएको कर्पोरेट म्यागजिनका संस्थापक सम्पादक उज्वलजंग शाहले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) की पूर्वअध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाकी उपाध्यक्ष सुष्मा महरालगायतले बैंकका एसिस्टेन्ट जनरल म्यानेजर सन्तोष भट्टराईलाई अवार्ड प्रदान गर्नुभएको थियो ।
एभरेष्ट बैंकबारे
भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त साझेदारीमा स्थापित एभरेष्ट बैंक लिमिटेड नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकको २० प्रतिशत पुँजीभार पञ्जाब नेशनल बैंकले वहन गर्दै आएको छ ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा सुदेश खालिङले नेतृत्व गरिरहनुभएको बैंकले देशको कर्पोरेट, कृषि र औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । बैंकले कृषिलाई उच्च प्राथमिकतामा राख्दै राजविराजमा ‘कृषि उद्यम विकास शाखा’ खोलेको छ । साथै, साना तथा मझौला उद्यमहरूलाई वित्तीय सहायता प्रदान गर्दै आर्थिक विकासमा टेवा पुर्याइरहेको छ ।
एभरेष्ट बैंक सबै शाखाबाट सम्पूर्ण बैकिङ सेवा दिने (एबीबीएस) नेपालकै पहिलो बैंक हो । बैकिङ पहुँच नपुगेकाहरूका लागि बैंकले नेपालमै पहिलो पटक बायोमेट्रिक मेसिनको सहायताबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको थियो ।
एभरेष्ट बैंकले आफ्नो उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न पुरस्कारहरू प्राप्त गरेको छ । उत्कृष्ट व्यवस्थापन भएको वाणिज्य बैंकका रूपमा तीन पटक ‘एसियन पेन्ट न्यूबिज अवार्ड’ पाएको छ । त्यसैगरी, कारोबार राष्ट्रिय आर्थिक दैनिकले ग्राहक सेवा र शाखा सञ्जालका आधारमा बैंकलाई ‘नम्बर वान’ घोषणा गरेको थियो । फाइनान्सियल टाइम्स लण्डनले प्रकाशन गर्ने ‘दी बैंकर’ नामक जर्नलको वर्षको उत्कृष्ट बैंक, २००६ ‘बैंक अफ दी इयर’ मा पनि एभरेष्ट परेको थियो । आर्थिक क्षेत्रमा गरेको उत्कृष्ट प्रदशनका कारण नेपाल–भारत चेम्बर अफ कमर्सले ‘एनआईसीसीआई सवोत्कृष्ट अवार्ड’ पनि प्रदान गरेको छ ।
एभरेष्ट बैंकले देशभर फैलिएका आफ्ना सञ्जालमार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १३१ वटा शाखा, १६७ वटा एटीएम बुथ, ३२ वटा राजस्व सङ्कलन काउन्टर र चार वटा विस्तारित काउन्टर सञ्चालनमा छन् ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS