काठमाडौं । रङ उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पुँजीको १५ प्रतिशत साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पनि चयन गरेको छ ।
अन्य कलर उद्योगभन्दा पृथक ढंगले स्वदेशी युवाहरूको लगानीमा गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याउने उद्देश्य लिएर १४ वर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको हो । कम्पनीको अधिकृत पुँजी ३० करोड रूपैयाँ र जारी पुँजी २६ करोड रूपैयाँ छ । त्यसमध्ये संस्थापक शेयरधनीले २२ करोड १० लाख रूपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत शेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रूपैयाँ पुग्ने छ ।
साधारणसभाले सरोज लुइँटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजिना श्रेष्ठ र आत्माराम ढुंगानालाई संस्थापक शेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित गरेको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र सञ्चालकसमेत ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । निर्वाचित सञ्चालकहरूलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनीसरह उच्च गुणस्तरीय कलरहरू उपलब्ध गराउने नेपाली कम्पनीका रूपमा परिचय बनाएको छ । स्वदेशी युवाहरू संगठित भई सहकारी मोडलमा एभरेष्ट कलर सुरू गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउँदो उच्च गुणस्तरका प्रिमियमदेखि इकोनोमी ब्राण्डका विभिन्न प्रकारका रङहरू उपलब्ध गराइरहेको छ ।
कम्पनीले बाहिरी सतहका लागि १० वर्ष वारेन्टी भएको ब्रिलिएन्ट ड्याम्प प्रुफ, ७ वर्ष वारेन्टी भएको एभरगार्ड प्रिमियम इमल्सन, एभरसाइन एक्स्टेरियर इमल्सन र एभरकोट एक्स्टेरियर इमल्सन, भित्री सतहका लागि सफिर लग्जरी इन्टेरियर, डाइसी प्रिमियम इन्टेरियर, बेल इन्टेरियर, फुच्चे बेल इन्टेरियर, एलियन इन्टेरियर इमल्सन, रोयल एक्रेलिक वासेबल डिस्टेम्पर, बेल एक्रेलिक डिस्टेम्पर, प्राइमरतर्फ प्रिमियम एक्टेरियर, इन्टेरियर प्राइमर, काठ तथा धातुमा प्रयोग हुने एभरल्याक हाइक्लास इनामेल, जुरेली सिन्थेटिक इनामेल, गैंडा बजेट एसवाईएन, इनामेल तथा त्यसमा प्रयोग हुने उड प्राइमर, मेटल प्राइमर रेड अस्साइडलगायतका आल्मुनियम पेन्ट्स, वाटर प्रुफिङ, गोल्ड पेन्ट, फ्लोर अक्साइड पाउडर, आर्ट कार्यमा प्रयोग हुने एभरेष्ट च्वाइसलगायत औधोगिक प्रयोजनका लागि प्रयोग हुने विभिन्न कलरहरू उत्पादन गर्दै आइरहेको छ ।
निकट भविष्यमा १२ वर्ष वारेन्टी भएको सुपर प्रिमियम एक्स्टेरियर इमल्सन बजारमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रमाणीकरण प्रमाणपत्र आईएसओ ९०००१:२०१५ प्राप्त गरिसकेको एभरेष्ट कलरले कुशल व्यवस्थापनका साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभावप्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा आदिलाई मनन गरीे अन्तर्राष्ट्रियस्तरको प्रविधि तथा अत्याधुनिक मेसिनबाट उत्पादन तथा ल्याब टेस्ट गरी नेपाली बजारमा रङहरू वितरण गरिरहेको छ ।
FACEBOOK COMMENTS