काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाण–चिन्ह प्राप्त गरेको छ।
चितवनको खैरहनीमा उद्योग रहेको यस कम्पनीले आफ्ना विभिन्न विधाका उत्पादनहरूका लागि आधिकारिक रूपमा गुणस्तर प्रमाण चिन्ह प्रमाणित कम्पनीको मान्यता पाएको हो।
यसअघि सन् २०२३ मा नै अन्तर्राष्ट्रिय स्तरको आईएसओ ९००१:२०१५ (क्वालिटी म्यानेजमेन्ट सिस्टम) प्रमाणपत्र प्राप्त गरिसकेको एभरेष्ट कलरले अब राष्ट्रिय स्तरको उच्च गुणस्तरको प्रमाणपत्र समेत पाएर उपभोक्ता माझ आफ्नो विश्वसनीयतालाई थप मजबुत बनाएको जनाएको छ।
विभागकी महानिर्देशक कुमारी ज्योती जोशीद्वारा स्वीकृत इजाजत–पत्र अनुसार कम्पनीले मिति यही जेठ १८ देखि लागू हुने गरी विभिन्न ब्रान्ड तथा ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर र २० लिटरका साइजहरूमा नेपाल गुणस्तर चिन्ह प्रयोग गर्ने अनुमति पाएको हो।
विभागको विवरण अनुसार एभरेष्ट कलरका इनामेल पेन्ट ब्रान्डहरू “जुरेली“ र “एभरल्याक ब्रिलियन्ट ग्लस इनामेल““ ले एनएस चिन्ह पाएका छन्। त्यसै गरी प्लास्टिक इमल्सन पेन्ट अन्तरगत इन्टेरियर र एक्स्टेरियर (भित्री तथा बाहिरी) इमल्सनमा “बेल इन्टेरियर इमल्सन“, “नीलम लक्जरी इन्टेरियर पेन्ट“, “डेजी प्रिमियम इन्टेरियर इमल्सन पेन्ट“, “एभरशाइन लास्टिङ एक्सटेरियर वाल कोटिंग“, “एभरगार्ड प्रिमियम एक्सटेरियर इमल्सन“, “एभरटप सुपर प्रिमियम एक्सटेरियर इमल्सन“, र “एभरस्टार प्रिमियम एक्सटेरियर इमल्सन“ ले यो मान्यता पाएका छन्।

सिमेन्ट प्राइमरमा “डी.टी.एस. प्राइमर“ ले एनएस चिन्ह प्राप्त गरेको छ। उड प्राइमरमा काठको सुरक्षाका लागि प्रयोग हुने “एउटा कोट काठ प्राइमर“ ले यो गुणस्तर प्रमाण–चिन्ह पाएको छ।

कम्पनीका प्रमुख कार्यकारी सरोज लुइटेलले यो सफलता उपभोक्ता, डिलर तथा प्राविधिकहरूको निरन्तर विश्वास र सहयोगको परिणाम भएको बताए । ’नेपाल सरकारले तोकेको कडा मापदण्ड र गुणस्तर पूरा गरेपछि मात्र प्राप्त हुने एनएस चिन्हले एभरेष्ट कलरका उत्पादनहरू पूर्ण रूपमा सुरक्षित र भरपर्दा छन् भन्ने कुरा प्रमाणित गरेको छ’ उनले भने ।

एभरेष्ट कलरले सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने तयारी गरेको छ । कम्पनीले विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ ।