भक्तपुर । एभरेस्ट स्कुलमा नेपाली सांस्कृतिक वैभवको प्रतीक तिहार पर्वको अवसरमा एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । विद्यालयले तिहारलाई शिक्षासँगै संस्कार र सभ्यताको सन्देश दिने माध्यमका रूपमा मनाएको हो ।
कार्यक्रमको सुरुवात काग तिहार र कुकुर तिहारको महत्वमाथि आधारित विद्यार्थी प्रस्तुतीबाट गरिएको थियो। नाटक, गीत र नृत्यका माध्यमबाट कागप्रतिको सम्मान र कुकुरको वफादारी तथा मित्रताको सन्देश उजागर गरिएको थियो।
उक्त अवसरमा कुकुरहरुको कला र सक्षमता प्रदर्शन गरिएको थियो । त्यसपछि विद्यार्थीहरूले लक्ष्मी पूजाको सांकेतिक प्रस्तुतिमार्फत सफाइ, उज्यालो र समृद्धिको सन्देश दिए। विद्यालय परिसर दीप, रङ्गोली र फूलमालाले सजाएर रमणीय वातावरण सिर्जना गरिएको थियो ।
कार्यक्रममा भाइटिकाको झल्को दिने प्रस्तुति पनि गरिएको थियो, जसमा दिदीबहिनी र भाइबहिनीबीचको माया र कृतज्ञताको सम्बन्धलाई उजागर गरिएको थियो। विद्यार्थीहरूले यमपञ्चकका पाँचै दिनको धार्मिक तथा सांस्कृतिक महत्व प्रस्तुत गरे ।
सो अवसरमा विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले तिहारको सन्देशबारे बोल्दै भन्नुभयो, “तिहार केवल पर्व होइन, यो हाम्रो संस्कार, प्रेम र एकताको प्रतीक हो। यसले हामीलाई प्रकाश, सत्य र आपसी सद्भावतिर प्रेरित गर्छ । ”
विद्यालयले तिहारलाई शैक्षिक, सांस्कृतिक र नैतिक मूल्यसँग जोड्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
FACEBOOK COMMENTS