काठमाडौं । विगत केही वर्षदेखि निकै राम्रो वित्तीय विवरण प्रकाशन गर्दै आएको एभरेष्ट बैंक लिमीटेड लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।
बैंकको भदौ २१ गते अपराह्न १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) वितरणको घोषणा गरेको छ ।
बैंकले गत वर्षको भन्दा कम लाभांश घोषणा गरे पनि आर्थिक मन्दीको प्रभाव परेको वर्षमा धेरै बैंकहरू लाभांश नै बाँड्न नसक्ने अवस्थामा पुगेका कारण एभरेष्टको प्रस्तावित लाभांशलाई शेयरधनीले सन्तोषजनक नै मानेका छन् ।
एभरेष्ट बैंकले यो वर्ष सबैभन्दा अगाडि लाभांश प्रस्ताव गर्नु पछाडिको कारणको रूपमा आउन लागेको दशैंअघि नै शेयरधनीलाई ‘दशैं खर्च’ दिनु रहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले दशैंअघि नै शेयरधनीले खर्च पाऊन् भन्ने उद्देश्यले सबैभन्दा अगाडि लाभांश घोषणा गरिएको हो ।
उनका अनुसार लाभांश प्रस्तावसम्बन्धी सम्पूर्ण आवश्यक कागजात शुक्रबार (आज) नै तयार भइसकेको छ । अब आगामी आइतबार प्रस्तावित लाभांश स्वीकृतिका लागि बैंकले राष्ट्र बैंकमा पठाउनेछ ।
राष्ट्र बैंकले कुनै अप्रत्यासित कारणले एभरेष्ट बैंकको लाभांश स्वीकृत नगरेको अवस्थामा बाहेक सामान्य अवस्थामा चाँडै स्वीकृति आउने र त्यसपछि शेयरधनीलाई ‘दशैं खर्च’ को रूपमा लाभांश दिने गरी वार्षिक साधारणसभा आह्वान गर्ने तयारी गरिएको खालिङले जानकारी दिए ।
‘हाम्रो उद्देश्य भनेकै शेयरधनीलाई दशैंअघि नै दशैं खर्च को रूपमा लाभांश वितरण गर्ने भन्ने रहेको छ,’ खालिङले भने, ‘राष्ट्र बैंकले समयमै स्वीकृत गरे हाम्रा शेयरधनीले दशैंअघि नै खर्च पाउनुहुनेछ ।’
एभरेष्ट बैंकले गत वर्ष (आव २०७९/८०) आफ्ना शेयरधनीलाई २०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्योभन्दा अघिल्लो वर्ष (आव २०७८/७९) पनि २०.६८ प्रतिशत लाभांश बाँडेको थियो ।
बैंकले आर्थिक वर्ष २०५९/६० देखि ०८०/८१ सम्मका सबै आर्थिक वर्षहरूमा डबल डिजिटकै लाभांश वितरण गरेको लोभलाग्दो इतिहास बनाएको छ ।
हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७२/७३ मा ७० प्रतिशत लाभांश बाँडेको थियो । त्यसपछि २०७०/७१, ६९/७०, ०६५/६६, ०६६/६७, ०६७/६८ मा ६० प्रतिशत वा त्योभन्दा बढी नै लाभांश वितरण गरेको इतिहास रहेको छ ।
FACEBOOK COMMENTS