काठमाडौं । एभरेष्ट बैंकलाई कर्जावाहक ऋणीको धितोमा रहेको चल/अचल सम्पत्तिहरू लिलाम बिक्री गर्न सकस परेको छ ।
ललितपुरस्थित पुल्चोक शाखा कार्यालयमा रहेको धितो लिलाम बिक्रीका लागि बैंकले पटक–पटक सूचना जारी गर्दा पनि बिक्री हुन नसकेको हो ।
काठमाडौंको कुलेश्वरमा रहेको गौतम ओभरसिज र काभ्रेपलाञ्चोकको पात्लेखेतमा अवस्थित गौतमश्री अर्गानिक एण्ड काउ फार्म प्रालिका सञ्चालक तथा शेयरधनी रामबहादुर गौतमले व्यावसायिक प्रयोजनका लागि लिएको ऋणमा समावेश धितो बिक्री हुन नसकेको बैंकले जनाएको छ ।
सम्बन्धित ऋणी र जमानीकर्ताका लागि जानकारी तथा धितो लिलाम बिक्रीका लागि आज बैंकले थप सूचना जारी गर्दै गोप्य शलिबन्दी बोलपत्रको पुन: आह्वान समेत गरेको छ । यसअघि बैंकले आफ्नो कर्जा असुलीका लागि ताकेता गर्दै २०७९ चैत ९ गते नागरिक दैनिकमा ३५ दिने सूचना प्रकाशित गरेको थियो । त्यसपछि पनि सम्बन्धित ऋणी र जमानी दिने व्यक्ति सम्पर्कमा नआएको भन्दै बैंकले धितो लिलाम बिक्री प्रक्रिया अघि बढाएको थियो ।
धितो लिलाम बिक्रीका लागि बैंकले गत असार ६ गते आर्थिक अभियान दैनिकमा पहिलो पटक, साउन ३२ गते दोस्रो पटक र असोज २३ गते तेस्रो पटक सूचना जारी गरेको थियो । तर, तीन–तीन पटकसम्म लिलाम बिक्रीको सूचना जारी गर्दासम्म बैंकले आफ्नो लिनुपर्ने रकम असुल गर्न नसकेपछि आज चौथो पटक पुन: १५ दिने सूचना जारी गरेको हो ।
बैंकका अनुसार दोस्रो पटकसम्मको आह्वानबाट धितोमा रहेको चल/अचल सम्पत्तिमध्ये आंशिक रूपमा मात्र बोलपत्र पेश भइ धितो बिक्री भए पनि तेस्रो पटकको आह्वानमा कुनै पनि बोलपत्र परेको थिएन । सोही कारण चौथो पटक आज पुन: सूचना जारी गरिएको बैंकले जनाएको छ ।
बैंकले धितोमा रहेको चल/अचल सम्पत्ति सकार गरी लिन इच्छुकले बैंकको शर्तहरू पालना गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।
के–के छन् धितोमा ? कसरी खरिद गर्ने ? पढ्नुहोस् बैंकको पूरा सूचना–
FACEBOOK COMMENTS