काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो व्यवसायमा उल्लेख्य सुधार गरेको छ ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ५६ करोड ५५ लाख रुपैयाँबाट १४.७२ प्रतिशतले बढेर ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
बैंकको अघिल्लो आर्थिक वर्ष १७ करोड २६ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) रहेकोमा गत आर्थिक वर्ष कर्जा असुलीमा सुधार भई १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक भएको छ, जसले नाफा बढाएको छ ।
बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ११ करोड २१ लाख रुपैयाँबाट बढेर ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । जसबाट बैंकको लाभांश बाँड्ने क्षमता वृद्धि भएको छ ।
बैंकको प्रति शेयर आम्दानी (इपीएस) २४.७६ रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूका लागि आकर्षक प्रतिफलको संकेत दिएको छ । त्यसैगरी, प्रतिशेयर वितरणयोग्य नाफामा पनि सकारात्मक वृद्धि भई १४.३८ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बैंकको पूँजी पर्याप्तता अनुपात १४.६३% कायम छ । यसले वित्तीय जोखिम वहन गर्ने क्षमता बलियो रहेको देखाउँछ । यसबाट नियामकीय मापदण्डभित्र रहेर बैंकले सुरक्षित र सन्तुलित रूपमा कर्जा विस्तार गरिरहेको स्पष्ट देखिन्छ ।
ग्राहकहरूबाट संकलित निक्षेप १६ अर्ब ७५ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर १८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १२ अर्ब ८४ करोड रुपैयाँबाट ७.३२ प्रतिशतले बढेर १३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्ति समीक्षा अवधिमा १८ अर्ब ९८ करोड रुपैयाँबाट बढेर २१ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ ।