काठमाडौँ । बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा दुइ दिने विज्ञान प्रदर्शनी सुरु भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको विहिबार कलेज परिसरमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे ।
विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो । कलेज स्थापना भएदेखि नै हरेक वर्ष आयोजना भइरहेको प्रदर्शनी कोभिड संक्रमणको समयमा दुुइ वर्ष सञ्चालन गर्न सकिएको थिएन । प्रदर्शनीको उद्घाटन गर्दै उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंहले विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी भएको बताए ।
राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरुले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको सिंहले बताए। विद्यार्थीले सैद्धान्तिक रुपमा जानेको ज्ञान र सिपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन स्ता प्रदर्शनीले मद्दत पुर्याउने बताउँदै उप्रप्रधानमन्त्री तथा शहरी विकास मन्त्री सिंले भने, ‘नेपालजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरोकारवालालाई प्रेरणा मिल्नेछ ।’
विज्ञान र प्रविधिको विकास विना देशको विकास गर्न नसकिने भएकोले सरकारले अब शिक्षा निती बनाउँदा यस विषयलाई प्राथमिकता दिनुपर्ने सिंहको भनाई थियो । कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्था भएको बताए।
नीजि शैक्षिक संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पुर्ण रुपमा उपलब्ध गराइरहेको जानकारी गराउँदै नगरप्रमुख अधिकारीले भने, ‘आर्थिक विपन्न र जेहेन्दार विद्यार्थीलाई पढाउने सन्दर्भमा साउथवेस्टर्न कहिले पनि नाइ भनेको छैन । यस हिसावले पनि साउथवेस्टर्न धन्यवादको पात्र बनेको छ ।’
कार्यक्रममा कलेजका अध्यक्ष इन्जिनियर वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास विना कुनै पनि अविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापना कालदेखि नै विज्ञान र प्रविधिलाई जोड दिँदै आएको जानकारी दिए।
कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, सांगितिक कार्यक्रम लगायतका प्रस्तुती रहने छ । प्रदर्शनीबाट विज्ञान र प्रविधिको क्षेत्रमा लाग्न युवा प्रतिभालाई हौसला मिल्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा नीजि तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीको तर्फबाट ६० वटा भन्दा बढी स्टलहरु राखिएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीहरुलाई विभिन्न चरणको प्रतियोगितामा सहभागी गराएर नगद, शिल्ड तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ । शुक्रबारसम्म चल्ने प्रदर्शनीमा २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
२०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुह अन्तर्गत सञ्चालित छ । यस समुह अन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेण्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरु सञ्चालनमा छ । यि संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ ।
FACEBOOK COMMENTS