काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको छ ।
परिसंघले विहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्, पदाधिकारी एवं केन्द्रिय सदस्यहरुसँग छलफल गरेको छ ।
परिसंघ सचिवालयमा आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए ।
लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएकाले यसमा सुधार आवश्यक रहेको बताए ।
अध्यक्ष अग्रवालले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणाबारे राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जानकारी गराए ।
परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले स्पष्ट दृृष्टिकोण एवं सुझावका लागि परिसंघलाई धन्यवाद दिए ।
निजी क्षेत्र बलियो नभएसम्म रोजगारी नबढ्ने, अर्थतन्त्र बलियो हुँदैन भन्नेमा पार्टी स्पष्ट रहेको उनले बताए । सांसदहरुले उच्च ब्याजदर, अर्थतन्त्र शिथिल, मागमा आएको संकुचनको कारणबारे जिज्ञासा राखेका थिए ।
FACEBOOK COMMENTS