काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नयाँ दल दर्ता हुनेबित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
बिहीबार काठमाडौंमा समाजवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले भने, ‘नयाँ परिस्थिति बनेसँगै प्रधानमन्त्री, माधवजी र मेरो छलफल भएको छ । नयाँ दल दर्ता भएको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने सहमति भएको छ ।’
बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष दाहाल र नेपाल बालुवाटार गएका थिए । सो भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको र नेता नेपालको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको अध्यक्ष दाहालको भनाइ छ ।
यस्तै, अर्को प्रसंगमा उनले पहिलेको सरकारले ल्याएको अध्यादेश र अहिले ल्याएको अध्यादेशमा आकाश र जमिनको फरक रहेको बताए । ‘अहिले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नु छ । त्यसैले यी दुइटा अध्यादेशमा फरक छ,’ उनले भने ।
कार्यक्रममा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेबाट फुटेर माधव नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गरेर देशमा नयाँ समाजवाद ल्याउने प्रयत्न गरेको बताए ।
डा. भट्टराईले भने, ‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले समाजवादीको अर्को पार्टी सुरुवात गर्नुभएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ ।’
उनले समाजवाद अहिलेको आवश्यकता रहेको बताउँदै भने, ‘देशमा नयाँ समाजवादको आवश्यकता छ । त्यो माधव नेपालजीले एमाले समाजवादी सुरु गरेर सुरुवात गर्नुभएको छ ।’ त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने उनको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS