ललितपुर । ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ सोमबार सम्पन्न हुँदैछ ।
एक्स्पोमा शुक्रबार र आइतबार अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको आयोजकको भनाइ छ । शुक्रबार सुरु भएको एक्स्पो सोमबारसम्म चल्नेछ । यस अगाडि आइतबारसम्म चल्ने भनिएको एक्स्पोलाई भारी वर्षाका कारण शनिबार एकदिन स्थगित गर्नुपरेकाले एक दिन थप गरिएको हो ।
धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको ललितपुरको पाटन क्षेत्रमा ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजले एक्स्पो आयोजना गरेको हो । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ आयोजित एक्स्पोको अन्तिम दिन सोमबार अवलोकनकर्ताको अझै बढी आकर्षण देखिने आयोजकको विश्वास छ ।
ऐतिहासिक पाटन क्षेत्रको प्रचार प्रसार तथा प्रवर्द्धनका साथै यहाँको समग्र विकासमा एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।
एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवर्द्धनात्मक लगायत गरी २५ वटा स्टल छन् । ती स्टलहरुका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिहरु प्रदर्शनीमा राखिएको रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष सज्जु व्यञ्जनकारले बताइन् ।
क्लासिक डाइमण्ड ज्वेलर्सको प्रस्तुतिमा एक्स्पोको मुख्य आकर्षण रहने गरी र्याम्प वाल्क एक्स्पोको अन्तिम दिन सोमबार हुँदैछ । र्याम्प वाल्क युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रहदै आएको छ ।
FACEBOOK COMMENTS