काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२–८३ को सुरूको दुई महिनाको आर्थिक तथा वित्त स्थितिसम्बन्धी रिपोर्टमा निर्यातमा ८८.६ प्रतिशतले वृद्धि भएको हो । साथै अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई ३०५ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ८.० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस, हवाईजहाज स्पेयर पार्टस, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, तयारी पोशाक, तेलहन, लसुनलगायतका वस्तुको आयात घटेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले वृद्धि भई २५७ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २७ अर्ब ७५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २९ अर्ब ९३ करोड बराबरको भएको थियो ।
FACEBOOK COMMENTS