काठमाडौं । यस आर्थिक वर्षको १० महिनामा १४७४ अर्ब १९ करोडको समान आयात भएको छ भने २१७ अर्ब ९१ करोड निर्यात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१–८२ को दश महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २१७ अर्ब ९१ करोड पुगेको छ । राष्ट्र बैंकको रिपोर्टका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो । राष्ट्र बैंकले गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
जसमा वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, तयारी पोशाक, जुश, अलंैची लगायतका वस्तुको निर्यात घटेको छ ।
बैंकले आर्थिक वर्ष २०८१– ८२ को दश महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४७४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमश: ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल–धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ जलेश्वर, कञ्चनपुर र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१–८२ को दश महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई १२५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १२२ अर्ब २ करोड बराबरको भएको थियो ।
FACEBOOK COMMENTS