लहान । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । चारदिने छठ पर्वको तेस्रो दिन ब्रतालुले जलाशय किनारमा बनाइएको छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । यो वर्ष कोरोना भाइरस संक्रमण जोखिम कम भएकाले गत वर्षको तुलनामा छठी घाटमा भक्तजन बढी भेला भएका थिए ।
आस्थाको पर्व छठअन्तर्गत मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई पूजाअर्चनासहित अर्घ दिई यो पर्वको समापन गर्ने परम्परा छ । अर्घ दिँदा ठकुवा,कसार,केरा,उखु,गेडागुडी र विभिन्न वनस्पति,भुसवा,माटोको हात्ती,सुप,कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य,केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
छठ पर्वको मूल सन्देश भनेको समन्वय, समावेशी र सादगीपन हो । छठ पर्वमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ,जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा लिनुपर्छ भन्ने हो ।
धनी,गरिब,कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नुले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादन प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो,जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ।सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास रहेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS