काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चितवनको भरतपुर क्षेत्रमा विद्युत् प्रणालीलाई सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउने उद्देश्यसहित अघि बढाइएका पूर्वाधार आयोजनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र सहजीकरणलाई तीव्रता दिँदै आएका छन्।
शिक्षा, स्वास्थ्य, व्यावसायिक एवम् कृषि उत्पादनलगायतका क्षेत्रको केन्द्र बन्दै आएको भरतपुर क्षेत्रमा विद्युत् सेवाको सुधारका लागि मन्त्री श्रेष्ठको सक्रिय पहल रहँदै आएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सक्रियतासँगै नेपाल विद्युत् प्राधिकरणबाट कार्यान्वयन र अन्तरनिकाय समन्वयका कारण लामो समयदेखि निर्माणाधीन महत्त्वपूर्ण विद्युत् पूर्वाधार आयोजनाहरू अहिले धमाधम निर्णायक चरणमा पुगेका छन् ।
यसैक्रममा भरतपुरमा सञ्चालन भइरहेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत् वितरण प्रणाली परीक्षणसहित सञ्चालनतर्फ उन्मुख भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत केवल प्रणालीमा विद्युत् चार्ज गर्ने काम सुरु भइसकेको छ भने करिब ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइनमार्फत विद्युत् जडान सम्पन्न भइसकेको छ । यसँगै आयोजनाको समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ । अब मुख्य रूपमा ग्राहकका घरमा अन्तिम जडान गर्ने काम बाँकी रहेको छ ।
भरतपुर महानगरपालिकाको ६ लेन सडक तथा बाइपास सडक आसपासका करिब २० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली विस्तार गरिएको छ । यसबाट करिब १ हजार ३ सय ग्राहक प्रत्यक्ष लाभान्वित हुनेछन् । साथै सहरी सौन्दर्यता र नागरिकको सुरक्षामा समेत विशेष महत्त्व राख्नेछ ।
हाल केन्द्रीय बस टर्मिनलदेखि नहरचोकसम्म दाहिनेतर्फका घरहरू, गणेशस्थान क्षेत्र तथा चितवन मेडिकल कलेजदेखि चौबिसकोठीसम्मका क्षेत्रमा भूमिगत प्रणालीबाट विद्युत् वितरण सुरु गरिएको छ ।
त्यसैगरी आँपटारी–केन्द्रीय बस टर्मिनल, केन्द्रीय बस टर्मिनल–पुलचोक, आँपटारी–पोखरा बसपार्क तथा भरतपुर सबस्टेशनदेखि भाटभटेनी नजिकको नहरसम्म भूमिगत केवल विस्तार सम्पन्न भइसकेको छ । अहिले परीक्षणका क्रममा प्रणालीमा लोड परीक्षण (चार्जिङ) भइरहेको छ ।