काठमाडौं । लक्ष्मी सनराइज बैंकका ग्राहक र कर्मचारीहरूले नेपालको नम्बर वा युनिसेक्स ब्युटी सलुन फेसियल हाउसमा आकर्षक छुट पाउने भएका छन् ।
आफ्ना ग्राहक र कर्मचारीका लागि अतिरिक्त सुविधा उपलब्ध गराउन बैंकको पोखरा शाखाले फेसियल हाउससँग आवश्यक सहमति गरेको छ । उक्त सहमतिमा फेसियल हाउस प्रालिकी प्रबन्ध निर्देशक वरिष्ठ सौन्दर्यविद सुष्मा महरा तथा बैंकका पोखरा शाखा प्रबन्धक अविन गुरुङ र प्रदेश कार्यालयका कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार फेसियल हाउसको सम्पूर्ण सेवाहरूमा बैंकका ग्राहक र कर्मचारीले २० प्रतिशत र फेसियल हाउस एकेडेमीमा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् । यो सुविधा फेसियल हाउसका ११ वटै शाखामा उपलब्ध हुने प्रबन्ध निर्देशक महराले जानकारी दिइन् ।
उनका अनुसार काठमाडौंको सुनधारास्थित काठमाण्डू मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको उपत्यकाभित्र चाबहिल (केएल टावर), ललितपुरको लगनखेल (केएम कम्प्लेक्स) तथा उपत्यकाबाहिर पोखरा (ट्रेड मल), धनगढी (बसपार्क), नेपालगञ्ज (न्यूरोड), चितवन (सीजी ल्याण्डमार्क मल), सुर्खेत (न्यूरोड) र इटहरी (सेन्टर प्लाजा) मा शाखा सञ्चालनमा छ ।
यी शाखाहरूले बैंकका कर्मचारीहरूका लागि सहमतिपत्रमा उल्लेख गरिएको छुट रकममा पनि थप ५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने बताइएको छ । उपलब्ध छुटको भरपुर सदुपयोग गर्न बैंक र फेसियल हाउसले लाभग्राहीहरूमा अनुरोध गरेको छ ।

उच्चस्तरीय, आधुनिक र विश्वासिलो सौन्दर्य सेवा प्रदान गर्दै आएको फेसियल हाउसले ग्राहक सन्तुष्टि, प्रशिक्षित जनशक्ति र निरन्तर नवप्रवर्तनमार्फत नेपाली सौन्दर्य उद्योगमा उदाहरणीय पहिचान स्थापित गरेको छ । पछिल्लो समय फेसियल हाउस रोजगारी सृजना, प्राविधिक शिक्षा प्रदान, आत्मनिर्भरता र महिला सशक्तिकरणको पर्याय समेत बनेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धनप्राप्त फेसिल हाउस एकेडेमीले ‘बेसिक’देखि ‘डिप्लोमा’ तथा ‘मास्टर्स लेभल’सम्मका कक्षाहरू सञ्चालन गरी हरेक वर्ष करिब २०० जनालाई सिपमुलक तालिम प्रदान गर्दै आएको छ । साथै, फेसियल हाउसले अन्य विभिन्न कोर्षमा आधारित अतिरिक्त विशेष कक्षाहरू समेत सञ्चालन गर्दै आएको छ ।