काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा उद्घाटन गरेको छ।
शनिबार आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, सञ्चार उद्यमी शोभा ज्ञवालीलगायतले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।
१८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले सेवा विस्तारलाई निरन्तरता दिँदै देशभर आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।
हाल कम्पनीले काठमाडौंसहित पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा प्रदान गरिरहेको छ। साथै काठमाडौं र चितवनमा फेसियल एकेडेमी सञ्चालन गरी सौन्दर्य तथा स्किन केयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुर्याउँदै आएको जनाएको छ।
फेसियल हाउसकी संस्थापक सुश्मा महराले सितापाइलामा शाखा सञ्चालनमा आएपछि यस क्षेत्रका सेवाग्राहीलाई अब टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने बताइन्।