कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका– ३ बल्मी घर भई पुनर्बास नगरपालिका– ९ सिता बस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो ।
सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका उनको आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए ।
यसैगरी मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगरपालिका– १८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको हो । बेदकोट– ७ गाउजीबाट सुडातर्फ आउँदै गरेका चौधरीले चलाएको म १ प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सोही मोटरसाइकलमा सवार भगतपुरका २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् ।

दुवै जनाको धनगढीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।

FACEBOOK COMMENTS