काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा राजनीतिक दलका नेताहरू मुछिएपछि संसद् बैठकमा सांसदहरू आरोपप्रत्यारोपमा उत्रिएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै केही सांसदले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमाथिको छानबिनलाई अझ प्रभावकारी ढंगले अघि बढाउन माग गरे। तर एमाले सांसदले नक्कली भुटानी शरणार्थी प्रकरण मात्र होइन, विगतमा भएका भ्रष्टाचारका सबै विषयलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै प्रतिवाद गरे।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नरहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउनुपर्ने माग नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले गरे। एमालेका सांसदले यो प्रकरणमा जोडिएका सबैलाई पक्राउ पुर्जी काटिनुपर्ने माग गरे।
बैठक सुरु हुनासाथ सांसदले बोल्नका लागि तँछाडमछाड गरेका थिए। सभामुखलाई बैठक नियन्त्रणमा लिनसमेत कठिन भएको थियो। एमालेका सांसदले भ्रष्टाचारको विषयमा विगतका अन्य फाइल पनि खोलिनुपर्ने बताएपछि माओवादीका सांसदले नक्कली शरणार्थी प्रकरणमा आरोप लागेका पात्रलाई सार्वजनिक गर्न एमालेलाई आग्रह गरेका थिए। माओवादी केन्द्रका सांसद माधव सापकोटाले इमानदारीपूर्वक रायमाझीलाई कानुनको दायरमा ल्याउन सघाउन एमालेलाई आग्रह गरे। प्रधानमन्त्रीले बोलेका कुरामा खिसिट्युरी नगरी छानबिनमा सहयोग गर्न उनले आग्रह गरे। उनले भने, ‘प्रधानमन्त्रीले बोलेका कुरामा खिसिट्युरी गर्ने, सदन कब्जा गर्ने काम गर्दै विषयान्तर नगरौं बरु टोपबहादुर रायमाझीलाई बुझाऔं त्यसैमा कल्याण छ।’
नेकपा एकीकृत समाजवादी नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथिसमेत छानबिन गर्नुपर्ने माग गरे। उनले भने, ‘तत्कालीन गृह सचिवले समेत नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषय स्वीकार गरिसकेको र त्यसबेलाका अन्य उच्चपदस्थ कर्मचारी र मन्त्रीहरूको समेत नाम मुछिएको छ। त्यसबेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ। अनि मात्रै भष्टाचारीको अनुहार कस्तो छ, कसले भ्रष्टाचार गरेको थियो, त्यो कुरा पत्ता लाग्न सक्छ।’ चौधरीले यसो भनिरहँदा एमाले अध्यक्ष केपी ओली मुसुमुसु गरिरहेका थिए।
एमालेका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए। ‘प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको छु,’ उनले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं। बाइड बडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थको छानबिन गरौं। यती, ओम्नी र लडाकु शिविर काण्डको पनि छानबिन गरौं।’
नेमकिपाका सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरू कोको हुन् भन्ने जानकारी गराउन सरकारसँग माग गरे। तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने काम भएको उल्लेख गर्दै उनले भने, ‘८७५ जनासँग १० देखि ५० लाख रूपैयाँसम्म उठाउने कोको हुन् रु यी सबै विषयमा छानबिन हुनुपर्यो ।’ एमालेका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS