जेरुसेलम । झण्डै चार सय जनाको ज्यान जानेगरी इजरायलले गाजामा गरेको आक्रमणपछि स्वयम् इजरायली जनतालाई नै चिन्तित तुल्याएको छ ।
जनवरीमा भएको युद्धविरामको सहमतिपछि आज मंगलबार इजरायलले गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेर झण्डै ४०० जनाको ज्यान लिएपछि स्वयम् इजरायलीहरूमा यस्तो चिन्ता प्रकट भएको हो । इजरायलको पछिल्लो आक्रमणबाट खासगरी गाजामा बन्धक बनाइएका इजरायली नागरिकका परिवारहरूमा व्यापक चिन्ता पैदा भएको हो ।
उनीहरूले पहिले आफ्नो परिवारका सदस्यहरूलाई सकुशल फिर्ता ल्याएर मात्रै गाजामा आक्रमण गर्नुपर्ने धारणा अघि सारेका छन् । आफ्नै देशको आक्रमणका कारण आफ्नै नागरिक मारिनसक्ने खतराबाट सचेत रहन उनीहरूले आफ्नो देशका प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् । गाजामा रहेका इजरायली बन्धकहरूका परिवारहरूले मङ्गलबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘बन्धकहरूको हत्या र बेपत्ता हुने काम रोक्न’ माग गरेका छन् ।
बन्धकहरूका परिवारहरूले आज बिहान प्रधानमन्त्री, रक्षामन्त्री र वार्ता टोलीका प्रमुखको ध्यानाकर्षण गराउँदै बन्धकहरूलाई सैन्य दबाबबाट कसरी जोगाउने र उनीहरूलाई कसरी फिर्ता ल्याउने तयारी छ भनेर प्रश्न सोधेका छन् । बन्धक एवम् बेपत्ता परिवार मञ्चले एक विज्ञप्ति निकालेर भनेको छ, ‘बन्धकहरूको हत्या र बेपत्ता हुन रोक्नुहोस्, पहिले, तिनीहरूलाई फिर्ता गर्नुहोस् त्यसपछि अरू सबै कुरा गरौँला ।’
त्यति मात्र होइन, बन्धकहरूका परिवारहरूले मङ्गलबार राजधानी जेरुसेलममा अवस्थित प्रधानमन्त्री नेतन्याहुको कार्यालयबाहिर विरोध प्रदर्शनको आह्वान समेत गरेका छन् । तर, इजरायलले आफ्ना सबै बन्धकहरू फिर्ता नहुँदासम्म गाजासँग लडिरहने अठोट गरेको छ । सोही कारण युद्धविराम सुरू भएयताकै सबैभन्दा तीव्र आक्रमण गरिएको प्रष्टीकरण इजरायल सरकारले दिएको छ ।
तर, बन्धकहरूका परिवारहरूले आफ्ना प्रियजनहरूको भाग्यका लागि जिम्मेवार सरकारी अधिकारीहरूसँग बैठकका लागि याचना गरिरहेका छन् । उनीहरूको याचना अनुत्तरित रहेको विज्ञप्तिमा उल्लेख छ ।
हमासको सन् २०२३ अक्टोबरको आक्रमणमा पक्राउ गरिएका २५१ बन्धकमध्ये ५८ जना अझै पनि गाजामा राखिएका छन् तीमध्ये ३४ जनाको ‘हत्या’ भइसकेको इजरायली सेनाले बताएको छ ।
राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख नै असुरक्षित
पछिल्लो आक्रमणबाट गाजामा संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख नै असुरक्षित र आतंकित बनेका छन् । सयौँ मानिसको ज्यान जानेगरी भएको आक्रमणबाट यस्तो आतंक सृजना भएको हो । ‘गत रात गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीबाट म आतङ्कित छु,’ संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसले त्रासदीमा त्रासदी थप्नेछ ।’ उनले बन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गरेर युद्ध स्थायी रूपमा अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा ३३० भन्दा बढी मानिस मारिएको जनाएको छ । अहिलेसम्म आक्रमणको जवाफ नदिएको हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम वार्तामा गतिरोधपछि ‘युद्ध पुनः सुरू गर्ने’ निर्णय गरेको आरोप लगाएको छ र गाजामा अझै जीवित बन्धकहरूका लागि लडाइँमा फर्कनु ‘मृत्युदण्ड’ हुन सक्ने चेतावनी दिइएको छ ।
इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । ‘हमासले हाम्रा बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, साथै अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै अपरेसनको प्रस्तावहरू अस्वीकार गरेपछि आदेश दिइएको थियो,’ नेतन्याहुको कार्यालयले विज्ञप्तिमा भनेको छ, ‘इजरायलले अब उप्रान्त बढ्दो सैन्य शक्तिका साथ हमासविरुद्ध कारबाही गर्नेछ ।’
FACEBOOK COMMENTS