इनरूवा (सुनसरी) । सुनसरीको देवानगञ्ज गाउँपालिका-२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । तीमध्ये उनले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए ।
उनले भने, ‘दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ । आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारीसमेत गरेको थिएँ । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो ।’
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’
यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार खर्च गरेका थिए । उनले भने, ‘बाढीले भित्र्याउने बेला भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो ।’
बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार रूपैयाँ खर्च गर्दै आएका जनाइएको छ ।
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रहिआएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आकलन एवम् तथ्याङ्क सङ्कलन जारी छ ।
कृषि ज्ञान केन्द्र इनरूवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट दुई करोड ५० लाख रूपैयाँ बराबरको धान नोक्सानी भएको बताए ।
उनले भने, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी छ ।’
FACEBOOK COMMENTS