इलाम । जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचेर मासिक ४० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उनी परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बनेकी छन् ।
भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिन्छिन् । दिउँसो उत्पादित वस्तु बजार लैजाने, बेच्ने र बेलुका पुनः करेसाबारीमा खटिने उनको दैनिकी हो । सिजनमा मात्रै तरकारी र फलफूल उत्पादन हुने बताउँदै उनले बेमौसमी तरकारीखेती गर्नसके मनग्य आम्दानी गर्न सकिने बताइन् ।
भण्डारीले १० बिघा जमिनमा विभिन्न कृषिउपजको खेती गरेको बताइन् । ‘अहिले हरियो मकै खानेबेला भएको छ, विभिन्न तरकारी पनि छन् । आफ्नो छ कट्ठा मात्र जमिन छ । बाँकी भाडामा लिएर खेती गरिरहेका छौँ,’ उनले भनिन् ।
बारीमा अधिकांश समय लौका हुने उनको भनाइ छ । गत असोजदेखि उत्पादन सुरु भएको लौका अहिलेसम्म बिक्री भइरहेको छ । सुरुमा प्रतिलौका १७० रुपैयाँमा बिक्री गरेको जनाउँदै उनले अहिले प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको बताइन् ।
उनी उत्पादित कृषिउपज झापाको दमकमा लगेर बिक्री गर्छिन् । करिब सात किलोमिटरमा पर्ने यो बजारमा उनी दैनिकजसो जाने गर्छिन् ।
भण्डारीले मासिक ४० हजार रुपैयाँभन्दा बढी लौकाबाट आम्दानी हुने गरेको बताइन् । उनले भनिन्, ‘लौका बेचेर छोरा–बुहारीलाई जापान पठाएँ । दैनिक घरव्यवहार चलाउन समस्या छैन ।’ छोरा–बुहारीलाई जापान पठाउन लिएको १५ लाख रुपैयाँ ऋण तिरिसक्न लागेको उनले बताइन् ।
लौकाबाहेक स्थानीय कुरिलो, बोडी, मुन्टा, अन्य तरकारी र मेवा उत्पादन भइरहेको भण्डारीले बताइन् । घरमा दही जमाएर मोही र नौनी घिउ पनि बिक्री गर्ने गरेको बताउँदै उनले आफ्नो उत्पादनसँगै गाउँमा उत्पादित वस्तु पनि बजार लगेर बिक्री गर्ने गरेको बताइन् ।
‘दही, मोही बेचेको देखेर कतिपयले दहीवाली दिदी पनि भन्छन् । कर्मले दहीवाली दिदीसमेत बनाएको छ । यो नामले बोलाउँदा झन् खुसी लाग्छ,’ भण्डारीले भनिन् ।
उनका श्रीमान् भुपू प्रहरी हुन् । श्रीमानले उत्पादित वस्तु चुलाचुलीको गाउँमा लैजाने गरेको भण्डारीको भनाइ छ । ‘बस्ती बाक्लो भएका ठाउँमा डुलाउन पर्दैन । डुलाएर बेच्दा भने मूल्य महँगो पर्दछ,’ उनले भनिन् ।
भण्डारीले १७ वर्षअघिदेखि यो पेसालाई निरन्तरता दिँदै अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न भएको बताइन् । हालै स्थानीय निकायबाट अनुदानका कार्यक्रममा सहभागी भएको उनले बताइन् ।
दीपज्योति कृषि फार्म सञ्चालन गरेकी भण्डारीले मौसमीभन्दा बेमौसमी तरकारीखेतीले प्रशस्त आम्दानी हुने अनुभव सुनाइन् । कृषिमा अर्ग्यानिक उत्पादनमा गर्नुपर्नेमा जोड दिँदै उनले घरमा भएका गाई र बाख्राको मल प्रयोग गर्ने गरेको बताइन् ।
आफूले १० जनालाई रोजगारी दिएको जनाउँदै भण्डारीले कतिपयलाई घण्टाका आधारमा र कतिपयलाई दैनिक ज्यालादारीमा कामदार राखेको बताइन् । प्रेसर, सुगर भएकाहरूले लौका खोज्दै घरसम्म आउने उनको भनाइ छ ।
FACEBOOK COMMENTS