काठमाडौं । तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत मात्र निर्माण भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्र्याक निर्माण कार्य करिव ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ । द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्र्याकमा पर्ने सुरुङ निर्माणको काम भने तीव्र गतिमा काम भइरहेको छ । नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ । काठमाडौं–तराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ ।
ठेक्का लागेका आयोजनाको काम तीव्र गतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगामी २ वर्षभित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ । काठमाडौंबाटै द्रुत मार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमि ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताए । उनले फास्ट ट्र्याक निर्माणका लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने बताए । उनले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताए । उनले प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भए पनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको बताए ।
उनले अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्र्याक निर्माणका लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको धारणा राखे । उनले सडक ठेक्का लगाउन विवादमा सहमति भए र अदालतले पनि तत्काल मुद्दा किनारा लगाइदिए समय अवधिमा नै आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने अपेक्षा रहेको बताए । उनले प्याकेज ८ ‘ख’को पुन: ठेक्काका लागि आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा रहेको भन्दै केही दिनमा टुङ्गो लग्ने बताए । उनले चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको उल्लेख गरे । उनले नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताए ।
त्यस्तै, काठमाडौं–तराई द्रुत मार्गअन्तर्गत निर्माण हुने छवटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ । यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ । सडक मार्गमा लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किसिमका ३ वटा सुरुङ निर्माणाधीन रहेका छन् । बाँकी तीनवटा देवीचौर, सिसौटार र चन्द्राम सुरुङ प्याकेज ८ को ‘ख’ र १० नम्बर प्याकेजमा पर्ने भए पनि जमिनको बनावट कमजोर भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको बताएको छ ।
निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौंबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौंतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ । द्रुत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तीव्र रुपमा गरिरहेको आयोजनाले बताएको छ । बाँकी तीनवटा निर्माण कम्पनीका इन्जिनियर विनायक शर्माले महादेवटारमा ३.३५५ किमिमध्ये १.९४८ किमि सुरुङ खन्ने काम सकिएको बताए ।
उनले अब उक्त सुरुङ मार्ग १.४०५ किमि मात्र खन्न बाँकी रहेको भन्दै आगामी दसैँ तिहारको बीचमा ब्रेक थ्रु गर्ने योजना रहेको जानकारी दिए । उनले धेद्रे सुरुङ मार्गको १.६३० किमिमध्ये १.१७३ किमी सुरुङ खन्ने काम सकिएको बताए । शर्माले धेद्रे सुरुङ मार्गको यही गतिका निर्माण कार्य भए आगामी जेठ महिनासम्म ब्रेक थ्रु गर्ने योजना रहेको बताए । उनले १.४३० किमि दूरी रहेको लेनडाँडा सुरुङ १.२०४ किमि खनिसकिएको बताए । उनले ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब २.०९ किमि मात्र खन्न बाँकी रहेको बताए ।
द्रुत मार्गमा ८९ वटा पुन निर्माण गरिँदै छ । आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमि रहेको छ । प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउन्डेसन राखिनेछ । त्यसमध्ये १ हजार ६ सय ६५ वटा पायल निर्माण सकिई पुल निर्माण भइरहेका छन् । ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन् । महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ । धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ । कोरियन कन्सल्टेन्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीका लागि दुईवटा पुल बन्ने जानकारी दिए । उनले एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाइका पुल बन्ने बताए । उनले यी पुल काठमाडौंको धरहराभन्दा अग्ला रहेको उल्लेख गरे ।
त्यस्तै, नेपाली सेनाका महासेनानी तथा द्रुत मार्ग अपरेसन इन्चार्ज इन्दीबर गुरुङले द्रुत मार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको बताए । उनले सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस वे निर्माण भइरहेको उल्लेख गरे । उनले डाँडालाई ‘स्लोप’ गरी कटान गरिएको भन्दै स्लोपमा कटान गर्दा बढी जग्गा अधिग्रहण गर्नुपरेको बताए । उनले नेपालमा निर्माणाधीन धेरै सडकमा पहिरोको जोखिम रहेको भन्दै त्यसलाई हेरेर द्रुत मार्गमा रोकथाम गर्न बायो इन्जिनियरिङमा बढी ध्यान दिएको बताए । र्
सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भए पनि उक्त अवधिमा काम नसकिने भएपछि २०८३ चैतसम्म म्याद थप गरिएको छ । यसको सुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भए पनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्याइएको छ । अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ ।
FACEBOOK COMMENTS